विगत केही समयदेखि हराउँदै गएको संस्कृत विद्याप्रति पछिल्लो समयमा भने यसको अध्ययनतर्फ विद्यार्थीहरुको आकर्षण बढ्दै जान थालेको छ । समाजमा हुने विभिन्न किसिमका धार्मिक कार्यहरु खासगरी पुजापाठमा ब्राह्मण र पुरेतहरुको उपस्थिति घट्दै गएको अवस्थामा संस्कृति विषयप्रति विद्यार्थीको आकर्षण बढेको हो ।

म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरधाम परिसरमा सञ्चालन गरिएको शालग्राम गण्डकी वेद विद्याश्रममा पछिल्लोपटक विद्यार्थीहरुको आकर्षण बढ्दै गएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषद्वारा सञ्चालन गरिएको संस्कृत विद्यालयमा बसेर संस्कृत तथा आधुनिक विषय अध्ययन गर्नका लागि म्याग्दी जिल्लासहित देशका विभिन्न जिल्लाहरुबाट विद्यार्थीहरु आएका छन् ।शालग्राम कालीगण्डकी वेद विद्याश्रमका प्रधानाचार्य चिरञ्जीवी आचार्यले दिएको जानकारी अनुसार उक्त विद्यालयमा हाल २८ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।विद्याश्रमको ६ कक्षामा १२ जना, ७ कक्षामा ८ र कक्षा ८ मा पनि ८ जना विद्यार्थीहरुले संस्कृतसहित आधुनिक विषयहरु अध्ययन गर्दै आइरहेको उनले जानकारी दिए ।

उक्त वेद विद्याश्रममा मुगु जिल्लाबाट २, रामेछापबाट २, पाँचथर, पर्वत र स्याङ्जाबाट एकएक जना र बाँकी सबै म्याग्दी जिल्लाका विद्यार्थीहरु अध्ययनमा सहभागी भएका छन् ।सनातन÷वैदिक धर्मको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको विद्याश्रममा संस्कृततर्फ संस्कृत व्याकरण, शुक्लयोजुर्वेद, संस्कृत भाषा र कर्मकाण्ड विषय रहेको छ । यसैगरी आधुनिक विषयतर्फ नेपाली, सामाजिक, अंग्रेजी र गणित विषयको अध्ययन अध्यापन भैरहेको प्रधानाचार्य आचार्यले बताए । उनका अनुसार मुख्य विषय भने संस्कृतलाई नै जोड दिइएको छ ।

वेद विद्याश्रममा अध्ययनरत सबै विद्यार्थीलाई गलेश्वर शिवालय क्षेत्र विकास कोषबाट निःशुल्क रुपमा आवासीय सुविधासहित अध्ययन गर्ने व्यवस्था मिलाइएको छ । त्यस्तै अध्यापनरत ३ जना शिक्षकको तलब पनि क्षेत्र विकास कोषले नै बेहोर्दै आइरहेको छ ।शालग्राम वेद विद्याश्रममा चालु शैक्षिक सत्र २०७६ सालको बैशाख महिनादेखि कक्षा ८ सञ्चालन गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिएका छन् ।

विगतमा संस्कृत विद्यालय सञ्चालन गरिएको भए पनि बिचको समयमा आएर केही समय बन्द भएपछि २०७३ सालबाट पुनः संस्कृत अध्ययन गराउने उद्देश्यका साथ गलेश्वरमा वेद विद्याश्रम सुरु गरिएको थियो । गलेश्वर मन्दिर परिसरमा केही समययता विभिन्न पूर्वाधारहरु समेत थपिएका छन् ।

प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारका रुपमा रहेको गलेश्वर मन्दिरको चौतर्फी विकासका लागि क्षेत्र विकास कोषबाट आवश्यक पहल थालिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए ।उनले गलेश्वर क्षेत्रमा पछिल्लो समयमा संस्कृत विद्याश्रमका साथै नटराजसहित विभिन्न देवीदेवताका मुर्तिहरु स्थापना गर्ने, मन्दिरमा अन्य भौतिक संरचना थप्ने, प्रचारप्रसारमा जोड दिइने जस्ता कामहरु गरिएको बताएका छन् ।भारतसहित तेस्रो मुलुकबाट भक्तजनहरु आउने गरेको गलेश्वर मन्दिरको थप विकासका लागि स्थानीय तहले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

Leave a Reply