बेनी नगरपालिकाको शिक्षा शाखामा जनशक्ती ब्यवस्थापनमा देखिएको विवादमा मन्त्रालयले राय पठाएको छ । गत जेठ ३ गते बसेको नगरकार्यपालिकाको बैठकमा शिक्षा शाखाका कर्मचारी नियुक्ती गर्ने विषयमा मेयर हरिकुमार श्रेष्ठ र कार्यपालिका सदस्यका बीच विवाद चर्किएपछि आरोप–प्रत्यारोप चुलिएसँगै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग मागिएको रायमा मन्त्रालयबाट निर्णय प्रचलित कानुन सम्मत देखिएको उल्लेख गरेको पत्र प्राप्त भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पराजुलीले बताए ।

उनका अनुसार मन्त्रालयको जेठ २० गतेको मन्त्रीस्तरीय निर्णयले नगरपालिकाको बैठकमा बहुमतबाट गरेको निर्णय प्रचलित कानुन बमोजिम देखिएको उल्लेख बमोजिम नियुक्ती गरिएको बताए । शिक्षा शाखामा स्रोतब्यक्ति मोहन बानियाँ र जयराम सुबेदीलाई जिम्मेबारी दिइएको छ । ‘प्राप्त पत्र अनुसार दुवैजनालाई नियुक्त दिइएको छ,‘यसका बारेमा हामीले धेरै बोल्न मिल्दैन’ पराजुलीले बेनीअनलाइनलाई भने ।

गत जेठ ३ गते बसेको कार्यपालिकाको बैठकमा शिक्षा शाखाका कर्मचारीको नियुक्ती गर्ने विषयमा सहमति नजुटेपछि मेयर श्रेष्ठको असहमतिका बीच बहुमतले निर्णय कार्यान्वयन गरेपछि मेयर श्रेष्ठले नोट अफ डिसेन्ट लेखेका थिए । नगरकार्यपालिकाको ४० औ बैठकमा प्रस्तुत गरिएका विविध छलफल सहित तय भएका एजेण्डाहरु मध्ये १३ वटा सर्वसम्मत निर्णय भएपनि १४ औँ नम्बरको निर्णय गर्ने क्रममा विवाद उत्कर्षमा पुगेको थियो । सोही दिनदेखि मेयर र नेकपा सम्बद्ध जनप्रतिनिधि बीच बोलचाल नै बन्द भएको छ ।

यता विवादका बीच स्थानीय सरकारको अधिकारलाई मिचेर नियुक्ती प्रक्रिया अगाडी बढाएको भन्दै असन्तुष्ट पक्षले चुप नलाग्ने संकेत दिएको छ । जनप्रतिनिधिको बीचको विवादले नगरपालिकाको कार्यसम्पादन थप जटिल हुने देखिएको छ । नगरपालिकामा मेयर काँग्रेस, उपमेयर राप्रपाबाट र १० वटा वडा मध्ये एउटा वडा बाहेक अन्यमा नेकपाबाट निर्वाचित छन् । मेयरको सर्मथनमा राप्रपाका कार्यपालिका सदस्य देखिएका छन् । त्यस्तै नगरपालिकाको विवादका कारण बजेट सहित अन्य निर्णयका साथै कार्यपालिकाको बैठक समेत थप अनिश्चित भएको छ ।

Leave a Reply