म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं २ भूरुङ तातोपानीका दुइजना युवकहरु मिलेर व्यावसायिकरुपमा तातोपानीको वेशीमा शुरु गरेको माछा पालन व्यावसाय अहिले यस क्षेत्रका युवाहरुका लागि प्रेरणाको श्रोत बनेको छ । स्थानीय सुजन राम्जाली र इन्द्र थापाले २० लाखको लगानीमा २०७५ सालबाट व्यावसायिक रुपमा शुरु गरेको माछा पालन विदेश नगई स्वदेशमा नै केही गरौं भन्ने युवाहरुका लागि प्रेरणाको श्रोत बनेको हो ।

१४ वर्षसम्म पोखरा बसेर व्यावसायसंगै भुजुङखोलाको माछा फर्म,गण्डकी रेन्वो ट्राउट फर्म र क्षेत्रदीप रेन्वो ट्राउट फर्ममा माछापालन सम्वन्धि आवश्यक सीप र ज्ञान आर्जन गरी आफ्नै गाउँमा फर्केर माछा पालन शुरु गरको सुजन राम्जालीले बताउनुभयो ।राम्जाली र थापाले तातोपानी रेन्वो ट्राउट फर्म दर्ता गरी ८ वटा पक्की पोखरीमा शुरु गरेको यस व्यावसायमा अहिले २५ हजार माछाका भुरा हुर्किदै छन् ।

त्यसैगरी ३ सय ५० किलोग्राम माछा विक्रि गर्न योग्य भएका र ग्राहाकहरु फर्म खोज्दै माछा पोखरीमा नै आउने गरेका फर्मका संचालक राम्जालीले बताउनुभयो ।ठाडो खोलाबाट आउने चीसो पानी पाइपमार्फत ल्याई ८ ओटा पक्की पोखरीमा युवाद्धयले गरेको माछापालन हेर्नका लागि बेनी जोमसोम कोरला सडकबाट मुस्ताङजाने वा मुस्ताङबाट फर्केर बेनी आउने स्वदेशी वा विदेशी पर्यटकहरु समेत आउने गरेका राम्जालीले बताउनुभयो ।

‘यही फर्म र यहाँको माछा पालन देखेर विदेश जाने भनेर राहदानी बनाएका कतिपय युवाहरुले समेत राहदानी थन्काएर गाउँमा नै व्यावसाय गरेर बसेका छन्, फमै संचालक इन्द्र थापाले भन्नुभयो ‘एकैचोटी धेरै पैसा कमाउने लोभ नहुने र विस्तारै मिहिनेत गर्दै जाने हो भने यस्तै व्यावसायबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ ।२०७२ सालमा सामान्य पोखरीमा परीक्षणको रुपमा गरेको माछा पालन सफल भएपछि २०७५ सालदेखि व्यावसायिक रुपमा नै लगानी वृद्धि गरी माछा पालन गरेको थापाले बताउनुभयो ।

फर्ममा अहिले करिब ३ सय ५० किलो माछा विक्रिका लागि तयार भएका,२ सय किलो जति १ महिना पछि तयार हुने र २५ हजार भुरा अलग्गै पोखरीमा राखिएको राम्जालीले बताउनुभयो । प्रतिकिलो रु १ हजार ३ सयका दरले पोखरीबाट नै माछा विक्रि हुने हुँदा बजारको कुनै समस्या नभएको उहाँको भनाइ थियो ।

यस वर्ष रु ६ लाख ५० हजारको करिब ५ सय किलो माछा विक्रि गर्ने तयारीमा रहेका संचालक द्धयले अर्को वर्ष रु १० लाख भन्दा बढिको माछा विक्रि गर्ने योजनाका साथ काम गरिरहेको बताउनुभयो ।बेनी जोमसोम कोरला सडकदेखि करिब १० मिनेटको पैदल यात्रापछि पुगिने तातोपानी रेन्वो टाउट फर्म मिहिनेत गर्ने हो भने स्वदेशमा नै वसेर पनि पैसा कमाउन सकिन्छ भन्ने कुराको बलियो उदाहरण बनेको अन्नपूर्ण गाउँपालिका वडा नं २ भूरुङ तातोपानीका वडाअध्यक्ष ओमप्रसाद फगामीले बताउनुभयो ।

Leave a Reply