पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको भीरखानीमा रहेको नेपालकै उत्कृष्ट तामाखानी सञ्चालनमा ल्याउन नसक्दा स्थानीय सरकारले करोडौको वार्षिक आम्दानी गुमाएको छ भने जनता बेरोजगारीका कारण विदेशिन बाध्य भएका छन् । वि.सं २०१८ सालदेखि २०४२ सालसम्म नियमित सञ्चालनमा रहेको र त्यसपछि सरकारको निर्देशनका कारण बन्द रहेको तामाखानी अहिलेसम्म पनि सञ्चालनमा नआउँदा सस्थानीय सरकार र जनताका लागि तामाखानी ‘भिल्लाका देशमा मणी, जस्तै भएको छ ।

२०४२ सालसम्म यस तामाखानीमा दैनिक २ सयभन्दा बढि कामदरले काम गर्नुका साथै प्रत्येक दिन ७÷८ धार्नीसम्म तामा निस्कने गरेको तत्कालिन प्रधानपञ्च एवम् हाल मालिका गाउँपालिका ४ का वडाअध्यक्ष दिलिपकुमार शेरचनले जानकारी दिए । त्यतिबेला यहाँको खानीबाट निकालिएको तामा प्रतिधार्नी १ सय ५० मा बिक्री हुने गरेको शेरचनले बताए ।

तत्कालिन समयमा तामाखानीका ठेकेदार समेत रहेका वडाअध्यक्ष शेरचनका अनुसार सो तामाखानीमा २०२६ सालमा भारतको विडला कम्पनिबाट प्राविधिकहरु झिकाइ खानीको अवस्था बुझ्दा प्राविधिकहरुले त्यहाँ सुन पनि हुनसक्ने बताएका थिए । त्यसको ४ वर्षपछि स्व. राजा विरेन्द्र रानी ऐश्वयसहित २०३० साल मंसिर ७ गते तामाखानी अवलोकनका लागि ओखरबोटमा आएको  र खानीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न हुकुम भएको थियो ।

त्यसपछि २०४२ सालसम्म नियमित सञ्चालन भएको सो तामाखानी वि.सं २०४२ मा मा सरकारले कर वृद्धि गरेपछि कर तिर्न सक्ने अवस्था नहुँदा र तामाखानीबाट तामा निकाल्ने प्रविधि तथा उपकरणको अभावमा खानी बन्द गर्नुपरेको थियो । त्यतिबेला अहिलेका वडाअध्यक्ष शेरचनले नै लाइसेन्स लिई खानी सञ्चालन गर्ने ठेक्का लिनुभएको ओखरबाटका ८३ वर्षिय दिलप्रसाद घर्तीमगरले जानकारी दिए ।

घर्तीमगरका अनुसार तामाखानीमा दुईवटा मुहान रहेका छन् । ती मुहानहरुको लम्बाई २ सय ५० देखि ३ सय मिटरसम्म रहेको छ । त्यहाँ अझैसम्म पनि तामाका धाउहरु देख्दा सकिने घर्तीमगरले जानकारी दिए ।स्थानीय तहको निर्वाचन पछि वडाअध्यक्ष शेरचनले गाउँपालिकाको सिफारिससहित ५ पटकसम्म काठामाडौंस्थित खानी विभागमा गई खानी सञ्चालनको लागि अनुमति माग्दा सरकारले अनुमति नदिएका कारण खानी सञ्चालनमा आउन नसकेको बताए । ‘खानी सञ्चालनका लागि मैले धेरै प्रयास गरे, अध्यक्ष शेरचनले भने, ‘तर सरकारले खानी सञ्चालनको अनुमति दिएनन् ।

तामाखानीलाई राजनीतिक दलका नेताले स्थानीय तह, प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो चुनावी एजेन्डा बनाए । गाउँमा चुनावी भाषण गर्न गएका जिल्लादेखि स्थानीय नेताहरुले एउटै स्वरमा तामाखानीका बारेमा गरेका प्रतिबद्धता पूरा नहुदाँ स्थानीय निरास छन् ।

ओखरबोट गाउँबाट २० मिनेटको दुरीमा २ वटा तामाखानी रहेका छन् । दुईवटा खानीको करिब दुई किलोमिटरको सुरूङ खनेर २०४२ सालसम्म नियमित सञ्चालन गरिएपनि सरकारी उपेक्षा र आधुनिक प्रविधिको अभावमा कारण बन्द भएको तामाखानीका बारेमा एक वर्ष यता धेरै बोले पनि काम नभएको स्थानीय जगदिश रसाईलीले गुनासा गरे ।

खानी उत्खननका क्रममा प्रयोग गरिएका साम्रागी, पुराना काठका साथै खानीलाई बलियो बनाउन पुराना ढुङ्गाहरू समेत खानीभित्र रहेका छन् । यता मालिका गाउँपालिकका अध्यक्ष श्रीप्रसाद रोकाले प्रयास भएपनि सरकारी निकायबाट असहयोग रहेको बताए । खानी तथा भूगर्भ विभागबाट प्रक्रियालाई ब्यवस्थित बनाउन प्रदेश सरकारले खानी सम्बन्धित कानून बनाउनुपर्ने जवाफ दिएको अध्यक्ष रोकाले बताए ।

Leave a Reply