‘नेताजीको भरपर्दो बात छैन
यिनको पनि गतिलो छाँट छैन 

                पर्छ रात अवश्य दिन बितेसी
जनताको के वास्ता चुनाव जितेसी’

गुल्मीको वडागाउँ घर बताउने ४६ बर्से शेरबहादुर गन्धर्वले सारंगी रेट्दै यो गीत गाउँदा म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा धेरैलाई मनमा लागेको कुरा नै गीतमा व्यक्त भएको ठाने।

०४५ सालमा १६ वर्षको उमेरदेखि सारंगी बोकेर जिल्ला जिल्ला, गाउँ गाउँमा चहार्दै गीत गाउँदै निस्केका शेरबहादुरका २ छोरी, १ छोरा र पत्नी छन्। हातमुख जोड्न सारंगी रेट्दै म्याग्दी आइपुगेका उनले गीतमार्फत् दुःखेसो पोख्दै सहयोगका लागि हात जोडेको देखेर बगरफाँटवासीले  पैसा र चामल दिँदा गन्धर्वको अनुहार खुसीले उज्यालियो।

देशमा ठुल्ठूला राजनीतिक परिवर्तन भए पनि आफ्नो अवस्था भने ४० वर्ष अघिभन्दा अलिकति पनि नफेरिएको भन्ने शेरबहादुरले गाँस र बासको अभावकै कारण कतिपय गन्धर्व पुख्र्यौली पेसा छाडेर वैकल्पिक काम गर्न थालेको बताए।

कुनै दिन मुम्बई, गोरखपुर र कलकत्ताका कोठीमा नेपाली चेली बेचिएको, कतै सासुले बुहारी मारेको अनि फकल्यान्ड टापुमा लड्दालड्दै वीरगति पाएका गोर्खा सैनिकको खबरवाहक बनेर गाउँघरमा सारंगी रेट्ने गन्धर्व दाइ हिजोआज फाट्टफुट्ट मात्र देखिन थालेका छन्।

देश विदेशका घटनालाई लस्के, चाँचरी, मालश्री, मंगला, बारामास, सन्देश, धनसीरा, मल्लार, सरुमैरानी, कला खलेनी, असारेलगायत भाखामा खबर दिँदै घुम्ने गन्धर्व दाइ (गन्धर्वहरु) अहिले गरिबीकै कारण पेसा फेर्न बाध्य भएको उनको भनाइ थियो। ‘सारंगीको धुनमा घटनाहरुलाई सिलसिलेवार कलात्मक ढंगबाट प्रस्तुत गरिरहँदा चौफेरामा बस्नेको आँखा रसाउँथे’, बगरफाँटका ७४ बर्से टेकवहादुर कार्कीले भने, ‘गीत संगीतबाट सूचना र समाचार बाँड्दै, सुसूचित बनाउने गन्धर्व दाइका सारंगी हिजोआज गाउँघरमा गुञ्जन छाडेका छन्।’

सूचना र सञ्चारको पहँुचसँगै ग्रामीण क्षेत्रमासमेत पाश्चात्य गीत संगीतको प्रभाव बढ्दै गइरहेको बेला कहिलेकाहीं गाउँघरमा डुल्दै आउने र सारंगी रेटेर विरहका भाका गाउने गन्धर्वहरु हिजोआज विकास निर्माण, जनप्रतिनिधिप्रतिको निराशा र सामाजिक बेथितिका गीत गाउन थालेका छन्।

बदलिँदो समयसँगै नयाँ पुस्ता पाश्चात्य गीत संगीतमा झुम्न थालेपछि हो वा पुख्यौंली पेसाबाट गुजारा नचलेर आजभोलि गाउँघरमा गाइने दाइको नामले चिनिने गन्धर्वहरू क्रमशः विस्थापित हुँदै गइरहेका छन्। गाउँघरका विरह र वेदनाका भाका गाउने उनीहरूले बदलिँदो समयसँगै आफ्नो गीतको स्वरूप पनि परिवर्तन गरेका छन्।

धेरै समयपछि बेनी नगरपालिका–२ बगरफाँटमा भेटिएका शेरबहादुरले पनि अरू कुनै सीप नभएकाले पुख्यौंली पेसालाई नै निरन्तरता दिनु आफ्नो बाध्यता भएको दुखेसो पोख्दै सारंगीको धुनमा जनतामा व्याप्त निराशा र जनप्रतिनिधिप्रतिको अपेक्षाबारे -याइँ-याइँ सारंगी रेट्दै तितो यथार्थ व्यक्त गरे।

गुल्मीदेखि वागलुङ हुँदै  म्याग्दीको वरंजा आइपुगेका शेरबहादुरले गीतमा संविधान निर्माणदेखि गणतान्त्रिक नेपालको अस्तव्यस्तता, तीनवटै तहको निर्वाचन र त्यसपछिको समसामयिक अवस्थासम्म सरल शब्दमा जनताले बुझ्ने गरी व्यक्त गरेका थिए।सूचना र सञ्चारको पुरानो माध्यम गन्धर्व पेसा अहिले एकाएक विस्थापित भएको छ। सूचना र सञ्चारका अनेकौं अत्याधुनिक प्रविधि रेडियो, पत्रपत्रिका, टेलिभिजन, फोन मोबाइलको विकास र व्यापकताले गन्धर्वलाई विस्थापित गरेको छ।

Leave a Reply