जिल्लाको विकट रूम गाउँमा अवस्थित एक निजी विद्यालयले अनिवार्य रुपमा ‘एक विद्यार्थी एक बिरुवा’ रोपेर वातावरण संरक्षण अभियान चलाएको छ । मालिका गाउँपालिका वडा नं २ रूमको नमुना ईङ्गलिस बोर्डिङ स्कुलले विश्व वातावरण दिवसको अवसरमा ‘एक विद्यार्थी एक बिरुवा’ अभियान सञ्चालन गरेको हो ।

विद्यालयमा अध्ययरत विद्यार्थीले जन्मदिन तथा अन्य उत्सवमा एउटा विरुवालाई अविार्य रुपमा रोपेर संरक्षण गर्नुपर्ने र बिरुवा संरक्षणमा समेत समय दिने गरी अभियानको सुरुवात गरेको विद्यालयका शिक्षक भुपेन्द्र नेपालीले बेनीअनलाइनलाई बताए । दिवसको अवसरमा सुरु भएको अभियान अन्तरगत विद्यार्थीले रुम आसपासको माटो अनुकुलको बिरुवा रोपेर संरक्षण गर्नुपर्ने र बिरुवा संरक्षण गरेबापत अतिरिक्त क्रियाकलापमा प्रोत्साहन गरिने विद्यालयका प्रधानध्यापक दुर्गाबहादुर किसानले बताए ।

‘बिरुवामार्फत विद्यार्थीलाई वातावरण संरक्षणको महत्वका बारेमा जानकारी गराइरहेका छौ,‘अब बिरुवासँग बालबालिकाको सम्बन्ध बलियो बन्नेछ’ किसानले भने । विद्यार्थीले रोप्न चाहेको बिरुवा विद्यालयले निःशुल्क उपलब्ध गराउने र विभिन्न समयमा विद्यार्थीका अभिभावकले समेत सहयोग गर्न सक्ने उनले बताए ।

दिवसको अवसरमा विद्यालयका ५० विद्यार्थीले राष्ट्रिय मावि नजिक रहेको देउता दानमा रोपेर आफ्नो बिरुवालाई नियमित रेकदेख तथा संरक्षणको प्रतिबद्धता समेत जनाएका थिए । त्यस्तै दिवसकै अवसरमा गाउँकै माईथानमा बगैचा ब्यवस्थापन समेत गरिएको थियो। वातावरण संरक्षणमा सक्रिय मध्य उत्कृष्ट विद्यार्थीलाई बार्षिक उत्सव सहित विद्यालयको कार्यक्रममा सम्मान समेत गरिने विद्यालयले जनाएको छ । यसैबीच विद्यार्थीले आ–आफ्नो घर तथा जमिनमा बिरुवा रोप्न अभिभावकलाई सक्रिय बनाउने प्रतिवद्धता जनाएका छन् ।

Leave a Reply