(रासस)     
यतिबेला गलकोटका किसान बेफुर्सदिला छन् । खेतमा रोपाइँको चटारो छ । सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ । ‘प्रि–मनसुन’ सक्रिय हुँदा रोपाइँ छिटो शुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । दैनिक जसो वर्षा हुन थालेपछि रोपाइँ सहज भएको किसान बताउँछन् । “धमाधम रोपाइँ चलेको छ, किसान व्यस्त छन्”, गलकोट नगरपालिका–७ का विनोद खड्काले भन्नुभयो । खड्काको खेतमा शनिबार रोपाइँ गर्ने तयारी छ ।

छिटो रोपाइँ हुनेमा जिल्लाको गलकोट, कुश्मीसेरा, खरबाङ र बुर्तिबाङ क्षेत्र पर्छ । गलकोटको मजुवा फाँट जिल्लाकै बढी धान उब्जाउ हुने ठाउँ हो । खोला आसपास र बाह्रैमास सिँचाइ पुग्ने खेतमा रोपाइँ छिटो हुने केन्द्रका कृषि प्रसार अधिकृत विनोद शर्माले बताउनुभयो ।  “रोपाइँ हुने मुख्य महीना त असार नै हो”, उहाँले भन्नुभयो, “गलकोटलगायतका केही ठाउँमा भने रोपाइँ शुरु भएको छ ।” गहुँ र धान बाली मात्रै लगाउने खेतमा पनि रोपाइँ छिटो हुने गर्छ । मकै बाली हुने खेतमा भने मकै झिकेपछि रोपाइँ शुरु हुन्छ ।

असार अन्तिममा मात्र रोपाइँको वास्तविक तथ्याङ्क आउने केन्द्रले जनाएको छ । जिल्लाभर करीब पाँच प्रतिशत खेतमा रोपाइँ भएको अनुमान गरिएको छ । असारभित्रमा अधिकांश क्षेत्रमा रोपाइँ सकिन्छ । आकाशे पानीमा भर पर्ने खेतमा पनि दैनिक जसो परेको वर्षाले किसानलाई राहत मिलेको छ । मनसुन जति छिटो सक्रिय हुन्छ उति नै छिटो रोपाइँ हुँदै जाने अधिकृत शर्माको भनाइ छ । नेपालमा मनसुन भित्रने दिन अङ्ग्रेजी मिति १० जुन हो ।

जिल्लाको दक्षिण अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेग लगायतका ठाउँमा भने रोपाइँ ढिलो हुन्छ । बागलुङमा कुल छ हजार १२२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । त्यसमध्ये दुई हजार ६३५ हेक्टरमा उन्नत र तीन हजार ४८७ हेक्टरमा स्थानीय जातको धान खेती गरिएको छ । पछिल्लो समय धान उत्पादनमा वृद्धि ल्याउन उन्नत जातको खेतीतर्फ किसान आकर्षित छन् ।

कार्यालयले पनि उन्नत धानको खेती बढाउन किसानलाई बीउ वितरण, बीउ वृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको छ । उन्नत जातको धान लगाउँदा १५ प्रतिशतसम्म उत्पादन बढाउन सकिने बताइन्छ ।  जिल्लाको २० प्रतिशत सिञ्चित क्षेत्रमा मात्रै धान खेती हुँदै आएको छ । केही स्थानीय जातका साथै उन्नततर्फ माछापुछ«े, छुन्दुङ, हिमाली, सावित्री, जेठो बुढो, सुख्खा १, २, ३ लगायतका उन्नत धानको खेती हुँदै आएको छ ।

Leave a Reply