Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

दरबाङ ढाडखर्कको सिंगो गाउँ तरकारी खेतीमा आर्कषित (फोटो÷भिडियो)

मालिका गाउँपालिका वडा नं ६ ढाडखर्कका नरबहादुर गुरुङले ५ वटा प्लास्टिक टनेल निर्माण गरी तरकारी खेती गर्दै आइरहेकी छन् । एउटा खरिद गरी टनेल निर्माण गरेका गुरूङले गाउँपालिकाबाट थप ४ टनेल उपलब्ध गराएपछि धमाधम टनेल निर्माणमा ब्यस्त छन् । गुरूङजस्तै धनबहादुर पौडेलले समेत बेमौसमी तरकारी खेती गरिरहेका छन् ।

गुरूङ र पौडेलजस्तै ढाडखर्कका १२ घरधुरीले २५ प्लास्टिक टनेल निर्माण गरी ब्यवसायीक तरकारी खेतीमा आर्कषित भएका हुन् । ‘तरकारी खेतीका लागी प्रयाप्त सिचाई छ,‘ गाउँलाई टनेल गाउँको रुपमा परिचय फेर्ने तयारीमा छौ’ पौडेलले भने । स्थानीेयले समुह बनाएर सीप र अनुभव समुहमा हस्तान्तरण गरेका छन् ।

बाँसका टहरामा प्लास्टिक लगाएर टनेल बनाई बाह्रै महिना तरकारी खेती गर्न सकिने भएकाले पनि आसपासका गाउँमा समेत प्लास्टिक टनेल विस्तारको योजना बनाइएको छ ।मालिका गाउँपालिका वडा नं ६ ले ढाडखर्कलाई टनेल गाउँ बनाउने गरी नमुना तरकारी खेती विस्तारमा गाउँपालिकाबाट २ लाख ८८ हजारको लागतमा २५ घरधुरीमा टनेलका लागी सहयोग गरेको वडा अध्यक्ष सन्तनाथ सुबेदीले बेनीअनलाइनलाई बताए ।

‘यहाँ तरकारी खेतीको सम्भावना छ,‘तरकारी खेती फस्टाउँदै गएमा आगामी बर्ष पनि थप सहयोग गर्नेछौ’ उनले भने । वडाभित्र उपयुक्त माटो अनुसार तरकारी खेतीलाई प्राथमिकता दिएको बताए । उनका अनुसार टनेल खेतीसँगै किसानलाई तालिम तथा सीपमुलक गतिविधिमा समेत सहभागी बनाउने बताए । तरकारीसँगै वडाभित्र केराका बिरुवा समेत वितरण गरिएको छ । जिल्लाको सदरमुकाम बेनीपछि दोस्रो ब्यापारिक केन्द्र दरबाङमा आवश्यक पर्ने तरकारी आयात गर्नुपर्ने अवस्थामा वडाभित्रै उत्पादन गरी दरबाङलाई आवश्यक पर्ने तरकारी खपत गर्ने गरी टनेल खेती सहित कृषिमा बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ।

आर्थिक अवस्था कमजोर भएकाहरू तरकारी खेती गरेर आत्मनिर्भर बनाउने गरी आगामी बजेटमा समेत थप सहयोग गरिने गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । किसानहरूले प्लास्टिक बेमौसमी टमाटरलाई प्राथमिकता दिएका छन् । काउली, बन्दा, करेला, सिमी, बोडी लगाएतका तरकारी दरबाङ बाहिरबाट आयात हुने गरेको छ ।

Exit mobile version