महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले भ्रष्टाचार गर्नेलाई सरकारले कडा कार्वाही गर्ने बताएकी छिन्। शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भ्रष्टाचार गर्ने जो कोहीलाई पनि कानुन अनुसार कार्वाही गर्ने बताएकी हुन् ।

मन्त्री थापाले सरकारले यसअघि नै ‘म भ्रष्टाचार गर्दिन र भ्रष्टाचार गर्न दिन्न’ भन्ने प्रतिबद्धतासहित आफ्नो काम गरिरहेको बताउँदै भ्रष्टाचार नियन्त्रणको काम भैरहेको बताइन् । उनले भ्रष्टाचार नियन्त्रणका लागि स्थानीय तहबाटै अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिँदै पार्टीका नेता र कार्यकर्तालाई जनप्रतिनिधिको कामलाई सहयोग गर्न तथा भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्ने कार्यमा अगाडि बढ्न निर्देशन दिइन् ।

विगतमा जस्तो सरकारका मन्त्री भ्रष्टाचारमा मुछिने कार्य भए पनि अहिले त्यस्तो अवस्था नरहेको भन्दै मन्त्री थापाले भ्रष्टाचार नियन्त्रणको अभियानमा सबै लाग्नुपर्ने बताएकी छिन् । उनले संसदमा विचाराधीन अवस्थामा रहेको मिडिया काउन्सिल विधेयक संशोधन हुने विश्वास व्यक्त गरेकी छिन् । मन्त्री थापाले ज्येष्ठ नागरिकहरुलाई एकलाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरिएको जानकारी दिँदै आगामी वर्षको बजेटमार्फत शिक्षा, स्वास्थ्य, महिला, बालबालिकाको क्षेत्रमा जोड दिइएको बताइन् ।

नेकपाको केन्द्रीय सदस्य समेत रहेकी मन्त्री थापाले संघ, प्रदेश र स्थानीय तहका कामकारवाहीलाई प्रभावकारी बनाउन एकीकृत र समन्वय गर्नु अहिलेको आवश्यकता रहेको भन्दै कतिपय कार्यक्रमहरु सञ्चालन गर्न स्थानीय, प्रदेश र अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वय गर्नुपर्ने अवस्था रहेको बताएकी छिन् ।

स्थानीय तह सचेत नभएसम्म आधारभूत समस्या समाधान गर्नका लागि गाह्रो पर्ने उनको भनाइ छ । कार्यक्रममा सहभागी जनप्रतिनिधि र नेता तथा कार्यकर्ताले सरकारको काम प्रभावकारी नभएको, स्थानीय तह, प्रदेश र संघबीच तालमेल नमिलेको, म्याग्दीका धार्मिक एवं पर्यटकीय क्षेत्रको विकासका लागि आवश्यक पहल गर्न आवश्यक रहेको जस्ता विभिन्न विषयहरुमा जिज्ञासा र धारणा राखेका थिए । नेकपा केन्द्रीय सदस्य तथा सांसद भूपेन्द्रबहादुर थापाको विशेष उपस्थिति रहेको कार्यक्रम नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षता र सचिव हरिकृष्ण श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply