म्याग्दीमा सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रमको शुक्रबार अनुगमन भएको छ । राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत सञ्चालित बंगुर तथा कुखुरापालन कार्यक्रमको स्थलगत रुपमा अनुगमन गरिएको हो।

महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्रालयको एक टोलीद्वारा डम्बरा नजिकै व्यावसायिक बंगुरपालन गरेका गुमा थापा, देवी विक, थमसरा पुन र टिका रोकाको बंगुर फार्म अवलोकन गरिएको छ । उनीहरु सबैलाई कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा १७ हजार रुपैयाँका दरले अनुदान रकम उपलब्ध गराइएको नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले जनाएको छ ।

चालु वर्षमा म्याग्दीको तीनवटा स्थानीय तहमा महिलासँग सम्बन्धित संस्था तथा महिला सहकारीहरु राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालनका लागि छनोट भएका छन् । बेनी नगरपालिकामा साविकको महिला तथा बालबालिका कार्यालय म्याग्दीद्वारा प्रवद्र्धित नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन गर्न छनोट भएको थियो । सहकारीले कार्यक्रम अनुसार १५ जनालाई व्यावसायिक कुखुरापालन र १५ जनालाई बंगुरपालन गर्न अनुदान रकम उपलब्ध गराएको छ ।

यसअघि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले महिलाहरुलाई व्यवसायमार्फत आर्थिक रुपमा सशक्त र आत्मनिर्भर बनाउन कार्यक्रम ल्याइएको बताइन् । उनले राष्ट्रपति महिला उत्थान कार्यक्रम महिलाहरुका लागि आएको बताउँदै पेशा तथा व्यवसायबाट महिलाहरु आत्मनिर्भर र व्यावसायिक बन्नुपर्नेमा जोड दिएकी छिन् ।

कार्यक्रममा बेनी नगरपालिका–६, का वडा अध्यक्ष कृष्णबहादुर बानियाँले उत्कृष्ट व्यवसाय गर्ने महिलाहरुलाई वडामार्फत पनि आवश्यक कार्यक्रम र बजेट सहयोग गरिने बताए । कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीसहित उच्च सरकारी अधिकारीको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा सहकारीका अध्यक्ष चिना बानियाँले सहकारीको गतिविधि प्रस्तुती गरेकी थिइन् । अध्यक्ष बानियाँको अध्यक्षता, सचिव दिलमाया बिटालुको सञ्चालन र लेखा संयोजक पशुपति शाहीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply