राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले धर्मनिरपेक्षताको नाममा हुने धर्म परिवर्तनले नेपालको राष्ट्रिय पहिचान र एकतामाथि नै सङ्कट आउने बताउनुभएको छ । आफ्नो पार्टीको राष्ट्रिय स्वाभिमान यात्रा लिएर म्याग्दी पुग्नुभएका थापाले बेनीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै धर्म निरपेक्षताको आडमा हुने तीव्र धर्म परिवर्तनले देशलाई सङ्कटमा लैजाने बताउनुभएको हो ।

अध्यक्ष थापाले नेपालको सनातन धर्मलाई विस्थापित गरेर विदेशी धर्म स्थापित गर्ने काम भैरहेकाले यो आपत्तिजनक रहेको बताउनुभयो । उहाँले यस्तो कार्यले सामाजिक सद्भाव र एकता खल्बलिएर देश धार्मिक द्वन्द्वतर्फ जान सक्ने सम्भावना भएको कारणले स्वाभिमान यात्राका क्रममा हिन्दुराष्ट्रको पुनसर््थापनाको विषयलाई अत्यन्तै जोड दिएर उठाइएको बताउनुभयो ।

एक अध्ययनका अनुसार विश्वमा नेपाल ईसाइकरण हुनेमा पहिलो नम्बरमा रहेको भन्दै अध्यक्ष थापाले कुनैपनि धर्मप्रति आफूहरुको विरोध नभएको तर, धर्मनिरपेक्षताको आडमा धर्म परिवर्तन गराउने कार्य राप्रपालाई मान्य नहुने चेतावनी दिनुभयो । उहाँले योजनाबद्ध र सङ्गठित रुपमा धर्म परिवर्तन गराएर सनातन हिन्दु र बौद्ध धर्मलाई कमजोर बनाउने प्रसास भैरहेको बताउनुभएको छ ।

अध्यक्ष थापाले देश गम्भीर सङ्कटको भुमरीमा रहेको बताउँदै २०६२÷६३ सालपछि सुरु गरिएको राजनीतिक अभ्यासले देशमा गरिबी र बेरोजगारीको समस्या विकराल रुपमा रहेको बताउनुभयो । उहाँले स्थानीय तहदेखि केन्द्रसम्म भ्रष्टाचारको विकराल रुप देखिएको भन्दै यसमा राजनीतिक दल, प्रशासनिक क्षेत्रका व्यक्ति र व्यापारीहरुको त्रिकोणात्मक सम्बन्धले काम गरिरहेको आरोप लगाउनुभयो । उहाँले ३३ किलो सुनकाण्ड, वाईडबडी खरिद प्रकरण, एनसेल प्रकरण र बालुवाटारको जग्गा खरिद–बिक्री प्रकरणमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल संलग्न रहेकाले यस विषयमा सरकारले गम्भीरतापूर्वक छानबिन गर्न नसकेको आरोप समेत लगाउनुभयो ।

लोकतन्त्रको नाममा देशमा लुटतन्त्र बढिरहेको भन्दै अध्यक्ष थापाले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक, संवैधानिक अङ्गहरुमा राजनीतिक नियुक्ति हुने जस्ता पछिल्ला घटनाक्रमहरुले देशमा सर्वसत्तावाद सङ्केतका रुपमा देखापर्न थालेको बताउनुभयो । शान्ति प्रक्रिया टुङ्ग्याउने क्रममा देशले ठूलो मुल्य चुकाइसकेको अवस्थामा फेरी माओवादी विद्रोहको पुनरुत्थान भैरहेको उहाँको भनाइ छ । धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको विषयमा पुनर्विचार गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।

वर्तमान सरकारले हालै प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटप्रति टिप्पणी गर्दै अध्यक्ष थापाले बजेट वितरणमुखी र धेरैलाई खुसी पार्ने खालको रहेको बताउनुभयो । उहाँले बजेटमा देशभित्र रहेको बेरोजगारी समस्या समाधानका लागि ठोस योजना नभएको भन्दै बजेट नितान्त नियमित र कर्मकाण्डी भएको आरोप लगाउनुभयो । वृद्धभत्ता र कर्मचारीको तलव वृद्धि गरिनु समयको माग अनुसार भएकाले सकारात्मक रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष थापाले हिमालपारीको जिल्ला जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक स्तरोन्नतिको कार्य ढिलासुस्ती भैरहेकोप्रति सरकारको ध्यानाकर्षण समेत गराउनुभएको छ । उहाँले पार्टी सङ्गठन निर्माण र एजेण्डाको पक्षमा रहेको जनमतलाई भोटका रुपमा रुपान्तरण गर्न राप्रपा राष्ट्रिय स्वाभिमानको यात्रा लिएर देश दौडाहा हिँडेको जानकारी पनि दिनुभयो ।

Leave a Reply