राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को दोस्रो चरणको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा अन्तर्गत शनिबार म्याग्दीको बेनीमा कार्यक्रम सम्पन्न भएको छ । ‘सनातन हिन्दुराष्ट्रको पुनसर््थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, महिलाविरुद्धको हिंसा, जातीय विभेद र छुवाछुत अन्त्यका लागि’ भन्ने मूल नारासहित अभियान अन्तर्गत आमसभा आयोजना गरिएको हो ।

आमसभालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष कमल थापाले सबैभन्दा तीव्र गतिले ईसाइकरण हुनेमा नेपाल पहिलो नम्बरमा रहेको बताए । उनले रोजगारी सिर्जना र विकासमा होइन, विदेशी धर्म र संस्कृति लाद्नतर्फ मुलुक पहिलो भएको आरोप लगाउँदै पृथ्वीनारायण शाहले एकीकरण गरी एउटै राज्य बनाएको आफ्नो मातृभुमीलाई टुक्र्याउनुपर्छ भन्ने आवाज समेत उठिरहेको बताएका छन् ।

अध्यक्ष थापाले विगतमा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने क्रममा धेरै ठूलो मुल्य चुकाइसकिएको बताउँदै उनले भने, ‘हामीले हिन्दुराष्ट्र गुमायौं, राजा पाखा लगायौं, राष्ट्रघाती नागरिकता ऐन कार्यान्वयन गरेर दशौंलाख विदेशीलाई नेपाली नागरिक बनायौं, के को लागि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन ।’ उनले भने, ‘बिडम्बना लाग्छ आज फेरी १२ वर्षपछि विप्लव माओवादीको नाममा देशमा माओवादीको पुनरुत्थान भैरहेको छ ।’

धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताका विषयमा पुनर्विचार गरौं भन्दै अध्यक्ष थापाले थपे, ‘त्रुटी र कमीकमजोरीहरु सच्याऔं, कसैलाई पनि विभेद नगरौं ।’ अब पुरानो बाटोमा फर्किन नसकिने हुँदा देशमा धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता मान्ने धेरै ठूलो सङ्ख्यामा रहेकाले त्यसकारण गणतन्त्रवादीहरुलाई पनि चित्त बुझ्ने सहमति र सम्झौताको राजसंस्थासहितको लोकतन्त्र उपयुक्त हुने उनको भनाइ छ ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले धर्मनिरपेक्षता विरुद्धको अभियान निरन्तर चलिरहने बताउँदै यसको आवश्यकता र औचित्यका लागि जनमत सङ्ग्रह हुनुपर्ने माग गरे । कार्यक्रममा राप्रपाका उपाध्यक्षद्वय भीमप्रसाद गौचन, तोरण गुरुङ, प्रवक्ता भुवन पाठक, गण्डकी प्रदेश प्रमुख हेमजंग गुरुङ र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघका अध्यक्ष महेशबहादुर सिंहले मन्तव्य राखेका थिए । कार्यक्रम राप्रपा म्याग्दीका अध्यक्ष विरबहादुर थापाको अध्यक्षता, सहसचिव सन्जु बरुवालको स्वागत र प्रवक्ता हरिप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । आमसभाको औपचारिक कार्यक्रम सुरु हुनुपूर्व सदरमुकाम बेनीमा राप्रपाले बाजागाजा र शङ्ख घण्टसहितको प्रभातफेरी ¥याली गरेको थियो ।

Leave a Reply