बेनीमा १० जना गजलकारको गजल गुन्जियो

म्याग्दीको सदरमुकाम बेनीमा शनिबार गजलउत्सवमा १० जना गजलकारहरुको गजल गुन्जिएको छ । ‘अग्रजको सम्मान, अनुजलाई प्रोत्साहन ! भाषा, साहित्य, समाजसेवा हाम्रो अभियान !’ भन्ने मूल नारासहित स्थापित म्याग्दी साहित्य सञ्चारले आफ्नो तेस्रो अधिवेशनको अवसर पारेर गजलउत्सवको आयोजना गरेको हो ।

गजलउत्सवमा म्याग्दी, पर्वत, बागलुङ, नवलपुर, काठमाडौं, रौतहट, कैलाली, सल्यान, स्याङ्जासहित १० जिल्लाका १० जना साहित्यकारहरुले गजलवाचन गरेका थिए । सल्यानका सिपी खत्री, बागलुङका राम अविरल, स्याङ्जाका मिलन समीर, रौतहटकी रेणुका जिसी, नवलपुरका आदर्श सुशील, कैलालीका हिक्मत ढकाल, काठमाडौका भूपि सरोबर, पर्वतका डिआर शर्मा, म्याग्दीका दर्पण रोका र दिपक शर्मा (दिपु)ले गजलवाचन गरेका थिए ।

कार्यक्रममा एकजना गजलकारले ५ वटाका दरले गजलवाचन गरेका थिए । माया, प्रेम, देशको समसायिक तथा सामाजिक अवस्था, बेरोजगारी समस्या जस्ता विषयवस्तुसँग सम्बन्धित गजलवाचन गरिएको थियो । विशाल गोतामे र नवीन बानियाँले गितार र बाँसुरी बजाएर गजल वाचनलाई साङ्गीतिक बनाएका थिए । गजल श्रवणका लागि म्याग्दी, बागलुङ र पर्वतका साहित्य प्रेमीहरु बेनीमा भेला भएका थिए ।

सोही अवसरमा म्याग्दीका साहित्यकार गणनाथ पौडेलद्वारा लिखित महाकाव्य प्रायश्चितको गृहको लेखकसहित १० जना साहित्यकारहरुले एकैसाथ लोकर्पण गरेका छन् । यो पौडेलको तेस्रो कृति हो । म्याग्दी साहित्य सञ्चारका अध्यक्ष घायलश्रीको अध्यक्षता, निवर्तमान उपाध्यक्ष सन्दिप खत्रीको सञ्चालन र कोषाध्यक्ष हिरा पौडेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैबीच शनिबारै सम्पन्न सञ्चारको तेस्रो अधिवेशनले सन्दीप खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिकोे उपाध्यक्षमा गंगा बानियाँ, सचिवमा हिरा शर्मा, कोषाध्यक्षमा रोजिना क्षेत्री, सहसचिवमा सन्दीप रिजाल, सदस्यहरुमा धिरन खत्री, दिपक शर्मा, गणेश सुवेदी र निर्वतमान अध्यक्षमा लोकनाथ भूषाल घायलश्री रहेका छन् ।
अध्यक्ष खत्री संस्थापक सचिवबाट उपाध्यक्ष हुँदै सर्वसम्मत रुपमा अध्यक्ष भएका हुन् । उनी साहित्यसँगै व्यवसाय र विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेका छन् ।