जीवनको उर्वर समय मुग्लानमा पसिना बगाउँदै विताए पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसंग खेल्दै तरकारी खेतीमा लागेका हरिलालको जीवनको उत्तरार्धमा बल्ल हरियाली छाउन थालेको छ ।म्याग्दीको बेनी नगरपालिका वडा नं २ बन्चरेढुङ्गाका ५० वर्षिय हरिलाल घिमिरेको युवावस्था साउदी अरबको चर्को घाममा पसिना बगाउँदैमा वित्यो ।

३० वर्ष अघि २० बर्षे लर्के जवानीमा गरिबीका कारण साहुसंग क्रृण लिएर मुग्लानको बाटो समाएका घिमिरेले १० वर्ष साउदी अरव र १० वर्ष खाडीका अन्य मुलुकमा पसिना बगाए पनि खासै राम्रो कमाइ गर्न नसकेपछि घर फर्किनुभयो । घर फर्केर हलो र कोदाली बोकी आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि भने घिमिरको हातमा पैसा आउदै रह्यो,खेतमा जस्तै जीवनमा पनि हरियाली छाउदै गयो ।

‘सुरुसुरुमा तरकारी खेतीबाट खासै राम्रो कमाइ गर्न नसके पनि मैले हिम्मत हारिन’ घिमिरेले भन्नुभयो ‘कतिले मलाई विदेशमा त कमाउन नसकेको मान्छेले जाबो माटोमा पसिना बगाएर के कमाउला भनेर गिज्याए पनि तर, म आफ्नो काममा लागिरहें ।’ २०६६ सालदेखि व्यावसायिक रुपमा आग्र्यानिक तरकारी खेती गर्दै आएका घिमिरेले ७ रोपनी जग्गामा गोलभेडा,करेला,साग,भण्टा,रामतोरिया,बोडि,बन्दागोभी,लगाएतका मौसमी तथा बेमौसमी तरकारी लगाउनुभएको छ । तरकारी विक्रि गरेर घिमिरेले बार्षिक ६ लाख रुपैयाँ भन्दा बढि कमाइ हुनेगरेको बताउनुभयो ।

‘यही माटोमा पसिना बगाउन थालेपछि मैले बुझे विदेशमा बगाउने पसिना आफ्नै माटोमा बगाउने हो भने पैसा यही फल्दोरहेछ’ घिमिरेले भन्नुभयो ‘उमेर ढल्केपछि मलाई चेत आयो तर, मैले मेरा छोराहरुलाई समयमा नै चिनाइ दिएँ पैसा फलाउने माटो र छेकी दिएँ मुग्लान जाने बाटो ।’

अहिले घिमिरेको खेत बारीमा गोलभेंडा,काँक्रो,करेला लटरम्मै फलेको छ । खेतवारीमा फलेको तरकारीसंगै घिमिरेको घरपरिवारमा खुसी र सन्तुष्टी पनि छाएको छ । दुई भाइ छोरा,श्रीमती र आफू गरी परिवारका ४ जना सदस्यले तरकारीको स्याहार गर्ने,गोडमेल गर्ने,टिप्ने र बजारमा लगेर विक्रि गर्ने गर्दै आएका छन् ।

तरकारी विक्री गरेर सरदर मासिक ५० हजार कमाइ हुन थालेपछि घिमिरे परिवारले मुग्लानको बाटोमा सधैभरीका लागि बार लगाएका छन् । घिमिरे भन्नुहुन्छ ‘आफ्नै माटोमा पैसा फलाउन सकिने उपाय मैले मेरो परिवारलाई पनि सिकाएको छु,त्यसैले उनीहरुका लागि पनि पैसा कमाउन भनेर कहिल्यै विदेश नपठाउने मेरो सोचाइँ छ ।घिमिरेले भन्नुभयो ‘समय सधैंै किन एउटै धारमा चल्थ्यो र? सोंच बदल्नु पर्दो रहेछ,परिश्रम गर्न सक्नु पर्दो रहेछ, पैसा कमाउन मुग्लान पस्नै नपर्दो रहेछ ।’

घिमिरेले अहिलेसम्म कुनै पनि संघसंस्था वा सरकारी निकायबाट तरकारीखेती सम्बन्धी तालीम नलिएको बताउनुभयो । ‘सिकाइ अनुभव नै मेरा लागि तालीम र अवसर दुबै बन्यो’ घिमिरेले भन्नुभयो । राज्यले किसानलाई दिने अनुदान समेत पाउनुभएको छैन उहाँले । उहाँ गैर किसानले सरकारी अनुदान पाएको तर आफूले नपाएकोमा व्यंग्य गर्दै भन्नुहुन्छ ‘तरकारी खेतीभन्दा पनि समूह र सहकारी दर्ता गरे खेती नगरे पनि अनुदान पाइँदो रैछ ।’

घिमिरेले अर्गानिक तरकारी खेती गर्नुहुन्छ । अर्गानिक तरकारीबाटै घिमिरले वर्षमा ६ लाखभन्दा बढी कमाउनुहुन्छ । वर्षमा चारपटक तरकारी उत्पादन गर्दै आएका घिमिरेको ६ जनाको परिवारका लागि यही नै आम्दानीको भरपर्दो स्रोत बनेको छ । घिमिरे बिहान उठेदेखि साँझसम्म तरकारीखेतीमै व्यस्त रहनुहुन्छ । तरकारीमा विषादीको प्रयोग नगर्ने घिमिरे भन्नुहुन्छ ‘औषधिमूलक झारपात तथा पशुको पिसाबबाट रोगकीरा हटाउने, मलजल गर्ने गरेको छु ।’

दुई वर्ष अघि आफूले फलाएको १० टन वन्दागोभी सदरमुकाम बेनीमा विक्रि हुन नसकेपछि पोखरा,काठमाण्डौ,चितवन र बुटवलसम्म पु¥याएर सस्तो मूल्यमा विक्रि गर्नुपरेको उहाँले गुनासो गर्नुभयो । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि घिमिरेको जीवनस्तर समेत फेरिएको छ । पहिला २÷४ सय आवश्यक पर्दा अरुसंग हातथाप्नु पर्ने घिमिरेले अहिले विभिन्न वैंक तथा वित्तिय संस्थाहरुमा रकम संकलन,छोराछोरीको पढाई र घरघडेरी समेत जोड्नुभएको छ ।

सरकारले कृषकहरुलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरु ल्याइ कृषकले उत्पादन गरेका कृषिउपजहरुको बजारीकरणमा स्थानीय तहले व्यवस्था गरिदिन सके कृषकहरुलाई राहत हुने उहाँको भनाइ छ ।
राज्यले अनुदानको व्यवस्था गरे अझै तरकारीखेती विस्तार गर्ने घिमिरेको सोच छ । पानीको अभाव हुँदा सार्वजनिक कुवाबाट पानी बोकेरसमेत तरकारीखेती गर्दै आउनुभएको छ । घिमिरेकै सिको गरेर धेरैले तरकारीखेती गर्न थालेका छन् । अहिले बन्चरेढुङ्गाका घर–घरमा करेसाबारी छन् । किसानले उत्पादन गरेको तरकारी बजारीकरणका लागि समेत कुनै समस्या छैन । व्यापारी खेतीबारीमै पुग्छन् ।

Leave a Reply