भिरालो पहाडको टुप्पोमा अवस्थित मालिका मन्दिरमा पूर्वाधार निर्माण गरिएको छ । समुन्द्र सतहदेखि करिव ३३ सय मिटरको उचाईमा घना जंगलको बीचमा मालिका गाउँपालिकाको वडा नं ६– ७ र रघुगंगा गाउँपालिकाको वडा नं – ६ को सिमानामा रहेको मन्दिरमा बर्षेनी भक्तजनको चाप बढ्न थालेपछि अति आवश्यक पूर्वाधार निर्माणका लागि मालिका गाउँपालिकाको १४ लाख ४० हजार गरेको छ ।

त्यस्तै मन्दिर ब्यवस्थापन समितिमार्फत स्थानीय उपभोक्ता समितिको जनश्रमदान १ लाख ५९ हजार गरी करिव १६ लाखको लागतमा पूर्वाधार विस्तार भइरहेको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष एवम् उपभोत्ता समितीका अध्यक्ष छकप्रसाद पाइजाले बताए ।‘तत्काल भक्तजनलाई सहज हुने पूर्वाधारलाई प्राथमिकता दिएका छौ,‘थप पूर्वाधारका लागि पनि पहल भइरहेको छ’ पाईजाले भने ।

उनका अनुसार रेलिङ सहित सिढी,सतल तथा पक्की पर्खाल सहितको घेराबारको काम भइरहेको छ । एकैदिन सयौं भक्तजनले पूजा गर्ने स्थानमा दुर्घटनाको जोखिमलाई मध्यनजर गरी घेराबार र पदमार्गलाई ब्यवस्थित बनाउने बताइएको छ। मन्दिरमा निर्माणधिन अवस्थामा रहेको पूर्वाधारको मालिका ६ का वडा अध्यक्ष सन्तनाथ सुबेदीले समेत स्थलगत अनुगमन गरेका छन् ।

उनले मन्दिरमा आवश्यक पर्ने पूर्वाधारका लागि वडास्तरका बजेटमा समेत प्राथमिकता दिने बताए । यता गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले मालिका मन्दिरको पूर्वाधार विस्तारमा दिर्घकालिन योजनाहरूका बारेमा गाउँपालिका बाहेक प्रदेश र संघीय सरकारबाट समेत बजेटको पहल भइरहेको बताए ।

‘मालिका धार्मिकसँगै पर्यटकीयस्थल पनि हो,‘यहाँ स्थानीय सरकारले मात्रै बजेट विनियोजन गरेर सम्भव छैन’ रोकाले भने । उनले मालिकाको गुरुयोजना बनाएर करिव ७ देखि १० करोडको पूर्वाधार विस्तार गर्न सकेमा पश्चिम म्याग्दीका विभिन्न पर्यटकीयस्थलमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सदरमुकाम बेनीबाटै पदमार्ग हुदै मालिकासम्म लैजान सकिने बताए।

मालिकाबाट धौलागिरी, निलगिरी अन्नपूर्ण, मनास्लु, माछापुच्छे, गुर्जा, चुरेन,पुथा लगाएतका दर्जनौ हिमश्रंखलाको अवलकोन गर्न सकिन्छ । मन्दिरमा हरेक वर्ष बैशाख पुर्णिमा,चण्डि र कात्तिक पुर्णिमाका दिन सयौंको सङ्ख्याका पशुपंक्षिको बली चढाउने गरिन्छ । मन्दिरमा विम, दरबाङ र पाखापानीका बासिन्दाले आफ्नै लगानीमा सत्तल बनाएका छन भने अधिकांस भक्तजनले ओडारमा रात विताएर पूजाआजा गर्ने गरेका छन् ।

Leave a Reply