म्याग्दीका स्थानीय तहले बस्तीस्तरमा योजना छान्दै

जिल्लाका स्थानीय तहमा बस्तीस्तरबाटै योजना छनौटको चटारो सुरू भएको छ । विगतमा दुईवटा बजेटमा जनताका आवश्यकता अनुसारमा योजनालाई कार्यान्वयनमा ल्याउन नसकेका जनप्रतिनिधिले विगतमा छनौटमा परेका योजना र नयाँ समस्यालाई पहिचान गरी आगामी आर्थिक बर्ष २०७६÷७७ मा बजेट विनियोजन गर्ने गरी बस्तीस्तरमै छलफल सहित योजना सङ्कनमा जनप्रतिनिधि ब्यस्त छन् ।

चालु आवको बजेट कार्यान्वयनको अन्तिम चरणमा रहेका जनप्रतिनिधिले जनताका प्राथमिकता अनुसारका योजनालाई प्राथमिकता दिने गरी योजना छनौटको तयारीमा रहेको बताएका छन् ।न्युन बजेटका कारण बजेटको सिमाभित्र रहेर योजना छनौटमा जनप्रतिनिधिलाई हम्मेहम्मे परेको छ ।

योजना छनौटमा बस्ती र वडास्तरमै रहेका जनप्रतिनिधिले शिक्षा, स्वास्थ्य, सामाजिक विकास सहित विकास निर्माणलाई प्राथमिकता दिएको जनाएका छन् । एक नगरपाकिला र पाँच गाउँपालिका रहेको म्याग्दी जिल्लामा वडास्तरका जनप्रतिनिधिले बस्तीतस्तरबाट छनौट गरेका योजनालाई वडाबाट छनौट गरी कार्यपालिकाको बैठकमार्फत बजेट विनियोजन गरिन्छ।

‘वडास्तरमा योजना छनौटको प्रक्रिया सुरू भएको छ,‘जनताका आधारभुत आवश्यकतालाई प्राथमिकतामा पर्नेछन्’ मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले भने। उनले संघीय र प्रदेश सरकारको बजेटमा स्थानीय तहलाई विनियोजन गरिएको बजेटपछि मात्रै थप योजनाहरू बनाउन सहज हुने भएकाले पनि बस्ती र वडास्तरबाट आएका योजनालाई प्रदेश सरकारको बजेटपछि कार्यपालिकाले अन्तिम रुप दिने बताए।एउटै योजनामा दुईथरी बजेटको सम्भावनालाई न्यूनिकरण गर्न बजेट विनियोजनलाई प्राथमिकता दिएको रोकाको भनाई छ ।

समुदायस्तरबाट योजना छनोटको प्रारम्भीक कामसँगै चालु आवका सबै योजनाहरू सम्पन्न गर्ने दवाव जनप्रतिनिधिलाई रहेको छ। मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले असार १ गते प्रदेश सरकारको बजेट भाषणपछि मात्रै योजना छनौट सहित गाउँसभाको तयारी गर्ने बताए ।‘वडास्तरमा योजनाको प्राथमिकीकरण गर्ने कार्य भइरहेको छ,‘प्रदेशको बजेटपछि अन्तिम तयारीमा जुट्छौ’ रोकाले भने ।

उनले वडाभित्र गौरवका योजना सहित गाउँपालिकाले चालु आवका योजनालाई समेत निरन्तरता दिने गरी बजेट ल्याउने बताए।स्थानीय तहको निर्वाचन भएको पहिलो बर्ष अनुभवको कमी, दोस्रो बर्ष योजनाको चापका कारण अलमलमा परेका जनप्रतिनिधले आगामी बजेटलाई विकास र समृद्धिलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने बताएका छन् । जिल्लाकै अति विकट बस्तीलाई समेट्ने धवलागिरी गाउँपालिकाको बजेटले सडक, शिक्षा, सामाजिक विकास सहित पर्यटनलाई केन्द्रित गर्ने गाउँपालिका अध्यक्ष थमसरा पुनले बताईन् ।

‘सिमित बजेटलाई धेरै क्षेत्रमा केन्द्रित गर्नुपर्छ,‘वडास्तरको प्राथमिकताका आधारमा योजना छनौट भइरहेको छ’ उनले भनिन् । टुक्रे र साना योजनालाई कम प्राथमिकता दिएपनि सामाजिक सचेतनामुलक कार्यक्रमलाई प्राथमिकता दिएको बताए। जनसंख्या, भूगोल, दुरीका आधार र मानवविकास सूचांकका आधारमा बजेट विनियोजन गरिने रघुगंगा गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले बताए ।

उनले हरेक वडामा गौरवका योजना छनौट भएकाले आगामी बर्षको बजेटलाई सतप्रतिशत कार्यान्वयन गर्न सहज हुने बताए। गाउँपालिका भित्र दिर्घकालिन योजनाका लागि केन्द्रित भएर अगाडी बढेको उनले बताए । त्यस्तै अन्नपूर्ण गाउँपालिकाले बस्ती र वडास्तरका साथै गाउँपालिकाले ८ वटै वडामा सञ्चालन गरेको सार्वजनिक सुनुवाईमा समेत जनताले माग गरेका योजनालाई समेत प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याउने गाउँपालिका अध्यक्ष डम बहादुर पुनले बताए । संघीय सरकार र प्रदेश सरकारले पठाउने अनुदान बाहेक आन्तरिक अनुदानलाई समेत विकास निर्माण्को क्षेत्रमा केन्द्रित गर्ने अध्यक्ष पुनको भनाई छ ।

स्थानीय सरकारका बजेट तथा कार्यक्रममा संघीय, प्रदेश सरकारको लक्ष्यलाई समेत आत्मसाथ गर्नुपर्ने भएकाले बजेटमा समानता र आवश्यकतालाई प्राथमिकता दिने बताए । संघ र प्रदेशबाट बजेटको सिमा प्राप्ती , बजेट र सीमा निर्धारण, बस्तीस्तरबाट योजना छनौट, वडास्तरबाट योजना छनौट तथा प्राथमिकीकरण, बजेट तथा कार्यक्रम तर्जुमा, गाउँ तथा नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत र गाउँ तथा नगरसभाबाट असार मसान्तभित्र कार्यक्रम स्वीकृत गरेपछि मात्रै बजेट कार्यान्वयनमा आउने छ ।

यता बेनी नगरपालिकाको बस्ती, वडा हुदै विषयगत समिति तथा कार्यपालिकाको बैठकमा छलफल हुनुपर्ने बाँकी नै छ । केही वडाले योजना छनौट गरेपनि कार्यपालिकाको बैठक अनिश्चित भएकाले असार १० गतेभित्रै नीति तथा कार्यक्रम पेश हुने सम्भावना न्यून रहेको कर्मचारी बताउँछन् । मेयर हरिकुमार श्रेष्ठले अहिलेकै अवस्थामा कार्यपालिका बैठकको सम्भावना न्यून भएको बताए। नगरपालिकााभित्र जनप्रतिनिधिको विवादले विकास निर्माणका भावी योजनामा समेत प्रत्यक्ष असर गर्ने निश्चित छ ,