पेन्सन लिन बागलुङ जानुपर्ने बाध्यताको अन्त्य, विरेन्द्रचोकमा भारतीय सैनिक बोर्ड स्थापना

म्याग्दीका भारतीय भुपु सैनिकले अव बेनीबाटै पेन्सन सुविधा प्राप्त गर्ने भएका छन् । सोमबार म्याग्दीको सदरमुकाम बेनीमा भारतीय रक्षा सहचारी कर्नेल अवनिस चाम्बियलले बेनी नगरपालिका वडा नं ७ विरेन्द्रचोकमा सैनिक बोर्ड कार्यालयको उद्घाटन गदै भौगोलिक रुपमा विकट म्याग्दीका भूपु सैनिकलाई सहज सेवासुविधा उपलब्ध गराउने गरी सैनिक बोर्ड कार्यालय स्थापना गरिएको बताए ।

उनले दुईदेश बिचको सम्झौता अनुसार स्थापना भएकाले सेवासुविधा लिन जिल्ला बाहिर जानुपर्ने अवस्थाका अन्त्य भएको बताए । नेपाल र भारतबीच परापुर्वकालदेखि नै सांस्कृतिक, धार्मिक तथा राजनीतिक रुपमा बलियो सम्बन्ध स्थापित भएकाले भारतीय भुमीको रक्षाका लागि योगदान दिएका भूपुको सेवामा भारत सरकारले आवश्यकता अनुसारको सहयोगलाई प्राथमिकता दिने बताए ।

कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले विकट गाउँबाट पेन्सन लिन बागलुङ र पोखरा जानुपर्ने अवस्थाको अन्त्य भएको बताए । जिल्लामा सैनिक बोर्ड नहुँदा जन्म ,मृत्य विवाह तथा बसाइसराई सम्बन्धी भुपु सैनिकहरुले ठुलो समस्या झेल्दै आउनुपरेको अवस्थामा आगामी दिनमा सहज हुने बताए ।

भुपु सैनिक कल्याणकारी सेवा केन्द्र म्याग्दीका अध्यक्ष क्याप्टेन मिन बहादुर कार्कीले म्याग्दीका भुपु सैनिकहरुको १६ बर्ष सम्मको संघर्षपछि बल्ल सफलता मिलेको बताए । उनले सैनिक बोर्ड स्थापना भएपछि समस्या र आवश्यकताका बारेमा सिधै दुतावाससँग सहकार्य गर्न सहज भएको बताए । कार्यालय स्थापनाको अवसरमा भारतीय दुतावासका रक्षा सहचारी सहितको टोलीलाई पञ्चेवाजा सहित भब्य स्वागत गरिएको थियो ।

म्याग्दीमा पेन्सन क्याम्पको सुविधा नहुदाँ जिल्लाका अति विकट बस्तीबाट दुई दिन लगाएर बेनी हुदै बागलुङ र पोखरा जाने गरेका थिए । पेन्सन लिन जाने बेलामा चोरी हुने समस्याबाट चिन्तित भारतीय भुपुले जिल्लामै सेवा प्राप्त हुने भएपछि उत्साहित भएका छन् । म्याग्दीमा ५ हजार बढी भारतिय भुपु सैनिक रहेका छन् । जिल्ला सैनिक बोर्ड म्याग्दीका सेक्रेटरी सुवेदार क्याप्टेन सोम बहादुर थापाको अध्यक्षता,कल्याणकारी सेवा केन्दका्र सचिव खुम बहादुर बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।