बेनी नगरका सदस्यहरुद्धारा विशेष नगरसभाको माग

बेनी नगरपालिकाका मेयर र कार्यपालिका सदस्य बीच विवाद चर्किएपछि एक तिहाई सदस्यहरुले विशेष नगरसभाको माग गरेका छन् । शिक्षा शाखाका कर्मचारी ब्यवस्थापनमा देखिएको विवादका कारण बोलचाल समेत बन्द भएपछि मेयर र कार्यपालिका सदस्यको अडानका कारण आगामी बर्षको नीति तथा कार्यक्रम अनिश्चित भइरहेको अवस्थामा एकतिहाई सदस्यको हस्ताक्षर आवश्यक रहेपनि नगरसभामा रहेका पचास जना सदस्यहरु मध्य २४ जनाले निवेदनमा हस्ताक्षर गरेर विशेष सभाको माग गरिएको हो ।

स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ४ दफा १९ को ३ मा भएको व्यवस्थालाई आधार मानेर यथाशिघ्र विशेष नगरसभा बोलाउन माग गरिएको गरेको बेनी नगरपालिकाका प्रबक्ता रामकृष्ण बराइलीले बेनीअनलाइनलाई बताए। उनले आगामी बर्षको नीति तथा कार्यक्रमलाई मध्यनजर गरी बैठक सञ्चालन गर्नुपर्ने अवस्था आएको बताए । निवेदनमा आगमी आर्थिक वर्ष २०७६÷०७७ को नीति ,कार्यक्रम र बजेट,बैठक सञ्चालन कार्यविधि २०७४ लाई संसोधन र अन्य विविध विषयमा छलफलको आवश्यकता देखिएको बताइएको छ ।

नगरसभाका एकतिहाई सदस्यहरुले सभाको वैठक बोलाउन आवश्यक छ भनी अध्यक्ष वा प्रमुख समक्ष विषय र कारण खुलाई लिखित अनुरोध गरेमा पन्ध्र दिनभित्र अध्यक्ष वा प्रमुखले सभाका लागि वैठक बोलाउनुपर्ने स्थानीय तह सञ्चालन ऐन २०७४ मा व्यवस्था गरिएको छ ।