नाष्टको हाजिरीजवाफ प्रतियोगितामा प्रकाश मावि प्रथम

नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले म्याग्दीको सदरमुकाम बेनीमा आयोजित माविस्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रकाश मावि प्रथम भएको छ । वातावरण सम्बन्धि सोचाई र बुझाईमा सकारात्मक परिवर्तन ल्याउन बेनी सामुदायिक माविमा आयोजित प्रतियोगितामा जामुनाखर्क मावि द्धितिय र पौलस्त्य मावि भिरमुनी तृतिय भएका छन् । प्रतियोगितामा प्रथम, द्धितिय र तृतियले क्रमश १३ हजार, ११ हजार र ९ हजार नगद, प्रमाणपत्र र शैक्षिक साम्रागी प्राप्त गरेका छन् ।

प्रतियोगिता सहभागीता जनाएका ९ विद्यालयलाई समेत सहभागी प्रमाणपत्र सहित शैक्षिक साम्रागी वितरण गरिएको आयोजक नाष्टले जनाएको छ । प्रतियोगिता तथा अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जलवायु परिवर्तनका असरहरुका साथै अनुकुलन तथा न्यूनिकरण गर्ने बारेमा स्कुले बालबालिकामार्फत समाजमा सन्देश फैलाउन ‘सहज हुने बताएका थिए ।

वातवरणीय समस्याहरु, बायूप्रदुषण, पानी र मा टोको प्रदुषण, जलवायू परिवर्तन, वातावरण विनाश साथै मानवसिर्जित वातावरणीय समस्याका बारेमा विभिन्न बक्ताले आफ्नो धारणा राखेका थिए ।कार्यक्रममा नाष्टका बरिष्ठ बैज्ञानिक डा. बिमला देवकोटा, पवन कुमार न्यौपाने, अग्नी ढकालले शैद्धान्तिक तथा प्रयोगात्मक विधि, प्रविधि, तरिका तथा स्थानीयस्तरमा जलवायू परिवर्तनबाट पर्ने असर र न्यूनिकरणमा खेल्न सकिने भूमिका बारेमा आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा बेनपा ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, बेनी नगरपालिकाका निमित्त शिक्षा अधिकृत विश्वप्रकाश रेग्मी, बेनी सामुदायिक माविका पूर्व अध्यक्ष एवम् सल्लाहकार यामबहादुर शाक्य, धौलागिरी माविका प्रधानध्यापक डण्डपानी सापकोटाले मन्तब्य राखेका थिए । कार्यक्रमको अध्यक्षता बेनी सामुदायिक माविका ब्यवस्थापन समिति अध्यक्ष नारायणबहादुर कार्की, स्वागत प्रधानध्यापक दिपक श्रेष्ठ र सञ्चालन शिक्षक टिकानाथ पौडेलले गरेका थिए । कार्यक्रमस्थलमा जलवायु परिवर्तन सम्बन्धि विभिन्न जानकारीमुलक विवरण समेत राखिएको थियो ।