बेनीबजारमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गरिने

बेनीबजारमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गरिने भएको छ । बेनीबजार क्षेत्रमा बसोबास गर्ने तथा ग्रामिण क्षेत्रबाट समेत विभिन्न कामले आएका जेष्ठ नागरिकलाई दैनिक भेटघाट तथा अनुभव आदानप्रदानका लागि बेनी नगरपालिकाले बिनियोजन गरेको बजेटमा गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले समेत सघाउने भएपछि गणेशटोलमा केन्द्र स्थापना गरिने भएको हो ।

दिवा सेवा केन्द्रको अभावमा पीपलको रूख आसपासमा बसेर दिन काट्ने गरेका ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने भौतिक संरचना सहित भेटघाटलाई सहज हुने गरी केन्द्रको स्थापना गरिने बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले बताए । ‘उहाँहरू हाम्रो सम्पत्ती हो,‘एकैठाउँमा बसेर पुराना अनुभव आदानप्रदान गर्दा नयाँ पूस्तालाई पनि उपयोगी हुन्छ’ श्रेष्ठले भने।

केन्द्र स्थापनामा बेनी नगरपालिका र प्रदेश सरकारको लागत साझेदारीमा करिव १२ लाखमा आवश्यक भौतिक संरचना सहित ज्येष्ठ नागरिकलाई सहज हुने थप पूर्वाधार विस्तार गरिने जनाइएको छ । दिवा सेवा सहित ज्येष्ठ नागरिकलाई बजार आसपासका क्षेत्रमा बृद्धआश्रमको माग समेत गदैं आइरहेको ज्येष्ठ नागरिक समाजले दिवा सेवा केन्द्रको स्थापनाले राहत मिल्ने अध्यक्ष नैनकुमार श्रेष्ठले बताए । ‘यसले सबै समस्याको समाधान हुदैन्,‘बृद्धबृद्धालाई भेटघाट गर्न सहज हुन्छ’ श्रेष्ठले भने ।

उनले केन्द्रमा धार्मिक तथा विभिन्न जानकारी मुलक पुस्तक, खानेपानी सहित टेलिभिजन लगाएत अन्य जानकारीमुलक गतिविधि समेत हुनुपर्ने बताए । दिउँसोको समयमा जममा भएर दुखसुख तथा आफ्ना दैनिकी, अनुभव साटासाट गर्न सहज हुने ज्येष्ठ नागरिकको भनाई छ । चालु आवको असार मसान्तभित्र नै सम्पन्न गर्नुपर्ने गरी गण्डकी प्रदेशका सामाजिक विकास सचिव दीर्घनारायण पौडेल र बेनी नगरपालिकाका शिक्षा शाखा प्रमुख एवक् निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पराजुलीले हस्ताक्षर गरेका थिए ।