‘जहाँ कुखुरापालन र मदिरा उत्पादन हुँदैन’

२१औं शताब्दीको युग पशुपंक्षीपालनबाट मानिसहरुले मनग्गे आम्दानी गर्दै आइरहेका छन् । कतिपयले व्यावसायिक रुपमै फर्म दर्ता गरेर कुखुरापालन र बंगुरपालन गरिरहेका छन् । यस्तै मदिरा उत्पादन र बिक्री वितरणबाट पनि राम्रै कमाई हुने गरेको छ ।

अझै गाउँगाउँमा त झन् अवैध घरेलु मदिरा दिनानुदिन उत्पादन हुनुका साथै छ्यापछ्याप्ती बिक्री वितरण हुने गर्दछ । घरेलु मदिरा स्थानीयको जिविकोपार्जनको एउटा गतिलो माध्यम समेत बनेको छ । तर, यस्तो अवस्थामा पनि म्याग्दीको एउटा गाउँमा भने कुखुरापालन र घरेलु मदिरा उत्पादन नै हुँदैन । यस्तो भन्दा पत्यार नलाग्न सक्छ तर यो वास्तविक अवस्था हो ।
कुखुरापालन र मदिरा उत्पादन नहुने गाउँ म्याग्दी सदरमुकाम बेनीबजारदेखि नजिकै बेनी नगरपालिका भित्रै पर्दछ ।

त्यो गाउँ हो ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको गाजने । बेनी नगरपालिका–५, पुलाचौरस्थित रहेको गाजने गाउँमा परापूर्वकालदेखि नै कुखुरापालन हुँदैन भने अवैध घरेलु मदिरा समेत उत्पादन गर्न मिल्दैन । तत्कालीन राजा दिलिपबम मल्ल (डिम्ब)ले गाजनेमा भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरेसँगै सोही समयदेखि नै गाजनेमा कुखुरापालन र मदिरा उत्पादनलाई निषेध गरेका थिए ।

राजाले बसालेको नियमलाई अहिले पनि स्थानीयले मान्दै आएका छन् । बिचको समयमा केही स्थानीयले कुखुरापालन र मदिरा उत्पादन गर्ने गरेको भए पनि त्यसको परिणाम राम्रो नदेखिएपछि छाडेका थिए । भगवान् जगन्नाथको मूर्ति भएको गाउँ गाजनेको गाउँभरी कसैले पनि कुखुरापालन र मदिरा उत्पादन गर्दैनन् । जगन्नाथ भगवान्ले दुइवटै चिजलाई राम्रो नमान्ने भएकाले यसको उत्पादन नभएको हो । विशेष गरी भगवान् जगन्नाथकै कारणले गर्दा गाजने गाउँका घरघरमा व्यावसायिक रुपमा लोकल जातको कुखुरा र व्यावसायिक कुखुरपालन तथा अन्नपातको सहयोगमा उत्पादन गरिने घरेलु मदिरा उत्पादन हुँदैन ।

जगन्नाथ मन्दिर गुठी व्यवस्थापन समितिका सचिव निलकण्ठ शर्माले तत्कालीन राजा दिलिपबम मल्लले जगन्नाथ मन्दिरको स्थापना गरेसँगै गाजने गाउँमा कुखुरा तथा बंगुरपालन र मदिरा उत्पादन गर्न नहुने किम्बदन्ती रहेको बताए । उनका अनुसार राजाले बसालेको पुरानो नियम भएकाले यसलाई गाउँका सबैले मान्दै आएको र परिवर्तन गरिएको छैन । तत्कालीन समयमा स्थानीयले नभई राजाले नै यस्तो नियम बनाएर लागू गरेको उनले बताए । कसैले अटेर गरेर कुखुरा पाल्ने र मदिरा उत्पादन गर्दा त्यस्तो कार्य गर्नेलाई राम्रो नभएको बताइएको छ ।

हाल गाजने गाउँमा २१ घरधुरीको मात्रै बसोबास रहेको छ । गाउँको बिच तथा समथर भूभागमा जगन्नाथ मन्दिर अवस्थित छ । राजा मल्लले भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर जगन्नाथको स्थापना गरी आप
mू सोही ठाउँमा अलप भएको किम्बदन्ती पाइन्छ भने मन्दिरभित्र राजाको समाधिस्थल समेत रहेको छ । मन्दिरभित्र जगन्नाथसहित राम, लक्ष्मण, कृष्ण, चतुर्वाहु, नृसिंहलगायत विभिन्न नामका भगवानका मूर्तिहरु रहेका छन् ।