यसरी बनाइयो धौलागिरी बेसक्याम्प जाने पदमार्ग (फोटो फिचर)

विश्वको आर्कषक गन्तब्यमा पर्ने धवलागिरी गाउँपालिका–४ मुदीको धौलागिरी हिमालको आधार शिविर जाने पदमार्ग निर्माण गरिएको छ । नाकै ठोकिने ठाडो पहाडका विभिन्न जोखिमपूर्ण यात्रा स्थानीयका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने गरी पदमार्ग निर्माण गरिएको हो ।

अक्करे भिर, जंगल भित्र ज्यानलाई हात्केलामा राखेर यात्रा गर्नुपर्ने बाध्यतालाई अन्त्य गदैं सुरक्षित पदमार्ग बनाउन गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ५० लाख बजेटमा पदमार्गको काम गरिएको गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले बताईन् । ‘नाकै ठोकिने चट्टानी पहाड हुदै यात्रा गर्नुपर्छ,‘त्यहाँबाट खसेपछि शरीरको टुक्रा भेटाउन पनि मुस्किल छ’ उनले भनिन् । विश्वकै सातौं अग्लो धौलागिरी हिमाल सहित पदयात्रामा रमाउने पर्यटकलाई सहज हुने गरी पदमार्ग मर्मत तथा विस्तार गरिएको बताईन् ।

‘पूर्वाधारबाटै पर्यटकलाई आर्कषित गर्न सकिन्छ,‘जोखिम मोलेरै पदमार्ग विस्तार गरिएको छ’ उनले भनिन् । उनका अनुसार नाउराभिरदेखि सल्लाघारी सम्म पदमार्ग मर्मत तथा निर्माणकार्य सम्पन्न भएसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावतमा सहज हुने भएकाले पनि पर्यटकको आर्कषण बढ्ने अपेक्षा गरिएको बताईन् ।

प्रदेश सरकारबाट प्राप्त बजेटले ९ किलोमिटर चारसय मिटर पदमार्ग फराकिलो, स्तरउन्नती तथा पदयात्रीलाई सहज हुने गरी स्थानीय ढुंगाले चिनेर बनाइएको पदमार्ग निर्माण उपभोक्ता समितिले जनाएको छ । स्थानीय पर्यटन ब्यवसायी एवम् पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद तिलिजाले दिएको जानकारी अनुसार इटाली बेसक्यामदेखि स्वीज क्याम्सम्मको पदमार्ग सहज भएपछि पर्यटकलाई समेत सहज भएको छ ।

संघीय सरकार अन्तरगत पर्यटन मन्त्रालयबाट १५ लाख बजेटमा निर्माण सम्पन्न भएको पदमार्गले पर्यटकका भरियालाई सामान ढुवानीमा समेत ठुलो राहत मिलेको छ । करिब २ किलोमिटरको पदमार्ग चौरवनदेखि इटाली क्याम्प सम्मको अत्यन्त जोखिम पदमार्ग फराकिलो बनाइएको छ भने लगातभन्दा केही बजेट बचत भएपछि स्टिमेटभन्दा धेरै काम गरिएको बताए । यसैबीच इटाली बेसक्याम्पमा गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयबाट ३२ लाखको लागतमा सूचना तथा आकस्मिक स्वास्थ्य केन्द्र भवन निर्माणकार्य सुरु भएको छ ।

मन्त्रालयबाट विनियोजित बजटेबाट अपुग हुने भएपछि जनश्रमदान र गाउँपालिकाले समेत १० प्रतिशत लगानीमा केन्द्र स्थापना गर्न लागिएको गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले बेनीअनलाइनलाई बताए । म्याग्दीमा भित्रिने विदेशी पर्यटकमा अन्नपूर्ण गाउँपालिकाको घोरेपानी पछि सबैभन्दा धेरै धौलागिरी बेसक्याम्प जाने गरेका छन् ।

पैदल तथा हेलिकप्टरबाट बेसक्याम्प जाने पर्यटकलाई इटाली आधार शिविरदेखि स्वीस शिविरसम्मको करिब चार किलोमिटर पदमार्ग निकै जोखिमपूर्ण मानिने गरेको थियो । भिरमा साँघुरो बाटो भएकाले पर्यटक आवतजावत गर्न निकै मुस्किल गरेको अवस्थामा खच्चड र भरियामार्फत इटली आधार शिविरसम्म पु¥याइने गरिएको थियो । तत्कालिन समयमा माओवादीले भूमिगत रुपमै पर्यटकबाट चन्दा संकलन गरी निर्माण गरेको नाउराको भीर समेत पटकपटक मर्मत गरिएको छ ।तस्वीर सौजन्य हरिप्रसाद तिलिजा