सशष्त्र द्वन्द्वकालमा श्रमदानबाट ट्रयाक खोलिएको ताराखोला जाने सडक तीन तहको बजेटबाट चौडा भएको छ । काठेखोला गाउँपालिकाको रिजालचोकदेखि ताराखोलाहुँदै म्याग्दी जोड्ने ५० किमी लामो यो सडक चालु बर्ष स्तरोन्नती गरेर बाह्रै महिना सवारी चल्ने बनाइएको हो । मध्यपहाडी लोकमार्गको रिजालचोकदेखि ताराखोला गाउँपालिकाहुँदै म्याग्दीको रुम जोड्ने यो सडक बन्दा ग्रामीण उत्पादनलाई बजार लैजान सहज हुनेछ ।

केन्द्र, प्रदेश र स्थानीय बजेट जोडेर यो सडकको स्तरोन्नती गर्न पाएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । ट्रयाक खोल्दा ताराखोला गाउँपालिका भित्रका अधिकांसले तीन महिनासम्म श्रमदान गरेका थिए । त्यसअघि सडक अभावमा एक दिनको पैदल यात्राबाट मात्र सदरमुकाम पुग्न सकिन्थ्यो । सडक खुल्दा गाउँमा उत्पादन भएका कृषि फसल बजार पठाउन सहज हुन थालेको छ ।

द्वन्द्वकालमा माओवादीले श्रमदानबाटै सडक खन्न लगाएको थियो । श्रमदानबाटै खुलेको ट्रयाकलाई अहिले पूर्णता दिन लागिएको हो । सशष्त्र द्वन्द्वको समयमा भएकोले ढुंगा फोड्ने काममा माओवादीले बम पड्काएर सहयोग गरेको थियो । हाल यो सडक अधिकांस स्थानमा ६ मीटर चौडाको छ ।

कम्तिमा १० मीटर चौडा बनाएर स्तरोन्नती गर्ने गाउँपालिकाको योजनामा प्रदेश सरकारबाट १ करोड र सडक डिभिजनबाट १ करोड १० लाख रुपैयाँ बजेट बिनियोजन भएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत नाली निर्माण, सोलिङ लगायतको काममा पनि युवालाई यो सडकमा समेत काममा लगाइने घर्तीले बताए । श्रमदानबाट खनिएकोले यो सडकको नाम सहिद मार्ग राखिएको छ । यो सडकको स्तरोन्नती हुँदा ताराखोलाका मानिसले सहज यात्रा गर्ने अबसर पाउँछन् ।

श्रम शिविरको रुपमा सडक नबनाएको भए अहिलेसम्म यहाँ आउन कठिन हुने घर्तीको भनाई छ । ताराखोलाको उपल्लो खण्डमा भने गाउँपालिकाको बजेटले झण्डै ५ किमी ट्रयाक खोलिएको हो । यो सडकबाट छिमेकी म्याग्दीको रुम र ओखरबोटतर्फ पुग्न सकिन्छ ।‘राज्यको लगानी गर्दा झण्डै ५० करोड खर्च हुने काम जनताले श्रमदानबाट ट्रयाक खुलाएका थिए’ घर्तीले भने, ‘राज्यबाट अहिलेसम्म कुनै साथ र सहयोग नपाएर सास्ती खेपेका थियौं ।’

गाउँपालिकाले ४० लाख रकम बिनियोजन गरेर ट्रयाक खोल्ने र केही स्थानमा घुम्ती चक्ल्याउने गरेको थियो । ‘साँघुरो र चिप्लो भएकोले कालोपत्रे भएपछि मात्र नियमित र सहज सवारी चलाउन सकिन्छ’ स्थानीय गोविन्द घर्तीले भने, ‘तुसारो पर्नाले हिउँदमा पनि जोखिम यात्रा गर्नुपर्छ ।’ प्रारम्भिक बजेटले गुणस्तरीय काम गरेर केही बर्षमै पुरा गर्न पहल गर्ने उनले बताए । बिरामी पर्दा समयमा उपचारका लागि सदरमुकाम पुग्न पनि सडकले सास्ती भोग्नुपरेको स्थानीय बताउँछन् । सडक सहज भएमा कृषि उत्पादन बजार पठाउन र बिरामी पर्दा सहजै अस्पताल पुग्न सकिने धेरैले आशा गरेका छन् । dhorpatannews.com

Leave a Reply