बिजुली नबोल्दै विद्युतको पोल भाँचियो

जिल्लाको धौलागिरी गाउँपालिका वडा नं ७ ताकममा केन्द्रिय प्रशारण लाईनको विस्तारको क्रममा गाडिएको फलामे पोल ढल्न थालेका छन् । धारापानी हुदै ताकममा भइरहेको विद्युतीकरणको क्रममा ताकम गाउँमा सडक आसपासमा क्षेत्रमा गाडिएको पोल ढल्ने तथा बाङ्गिन थालेपछि स्थानीय चिन्तित भएका छन् । नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्र र धौलागिरी गाउँपालीकाले उपभोक्ता समिति मार्फत ठेकेदार दिनेश ढुंगानामार्फत विस्तार गरिएको पोल ढल्न थालेको स्थानीय कमला भण्डारीले बताईन् ।

‘गाडिएका पोल ढले,‘अझै धेरै पोल गाड्नै बाँकी छ’ भण्डारीले भनिन् । उनले विद्युत प्राधिकरणको चरम लापरवाहीले समेत ठेकेदारलाई समयमै काम लगाउन दवाव दिन नसकेको बताईन् ।ताकम आसपासमा साउन मसान्त भित्र २ सयभन्दा धेरै पोल गाड्न बाँकी भएपनि विस्तारमा ढिलासुस्ती भएको उपभोक्ता समितिका अध्यक्ष प्रगती कार्कीले बेनीअनलाइनलाई बताए । ‘असार मसान्तभित्रै पोल गाड्नुपर्ने छ,‘तार खरिद गरिसकिएको छ’ कार्कीले भने ।

उनले ठेकेदारलाई साउन मसान्तसम्मको समय अवधि भएपनि तारसहित आवश्यक उपकरण खरिद गरिएकाले स्थानीयले नै जनश्रमदानबाटै पोल गाड्न सक्रिय भएको बताए । उनले सिवाङ, मच्छिम क्षेत्रमा पोल गाड्ने काम सम्पन्न भइसकेपनि ताकम आसपासमा क्षेत्रमा अझै काम सम्पन्न नभएको अवस्थामा पुराना विस्तार गरिएका पोल समेत ढल्न थालेपछि समस्या भएको बताए । छिमेकी मालीका गाउँपालीकाको केन्द्र दरवाङ बजारदेखि केन्द्रिय प्रशारण लाईनको विस्तारसँगै एकबर्ष अगाडी धारापानीमा बिजुली बलेको छ । ताकमदेखि माथिल्लो क्षेत्रमा आवश्यक पर्ने ट्रान्सफर्मर पुगिसकेको छ ।

यता गाउँपालिका अध्यक्ष थमसरा पुनमगरले विद्युतीकरणमा गुणस्तरहिन काम भए तत्काल भत्काएर नयाँ बनाउने बताएकी छन् । ‘गुणस्तरहिन कामलाई कुनैपनि हालतमा स्वीकार गर्न सकिदैन्,‘उपभोक्ता समितिको सक्रियतालाई थप प्रभावकारी बनाउँछौ’ उनले भनिन् । यसबर्ष ताकम र मुनामा विद्युतीकरण गरिने छ । गाउँपालिकाभित्र ताकमदेखि माथि उज्यालोका लागि स्थानीयले लघुजलविद्युत, दियालो र सोलारको प्रयोग गर्ने गरेका छन् ।