छोटियो गलेश्वरदेखि मौवाफाँटको सडक दुरी

म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बेनी नगरपालिका–९ गलेश्वरबजारबाट आवत–जावत गर्ने दुरी छोटिएको छ । घुमाउरा, साँघुरो सडक, बर्खामा हिलाम्मे र बाख्लो धुलोका कारण मौवाफाँट तथा दग्नाम आवतजावत गर्ने स्थानीयलाई सास्ती हुने गरेको अवस्थामा गलेश्वरको पारीबाट अक्करे भीरलाई थिचोल्दै विस्तार गरिएको सडकको ट्याक खोल्ने काम सकिएको रामकृष्ण कस्ट्रसनका प्रविण सापकोटाले बताए ।

‘मर्मतको काम बाँकी छ, अब केहीदिनमा नियमित सवारीसाधन आवतजावत गर्न मिल्छ’ सापकोटाले भने । उनका अनुसार सडक विस्तारमा स्टिमेट ४८ लाख भएपनि २७ लाखमा काम सम्पन्न गरिएको बताए । गलेश्वरपारीबाट ४ किलोमिटरको सडक विस्तार सम्पन्न भएपछि अन्तिम अनुगमनको कार्य बाँकी रहेको छ।

सडक विस्तार भएपछि मौवाफाँट आसपासका बासिन्दा तथा दग्नाम, चिमखोला, कुईनेमंगलेका बासिन्दालाई पुरानो सडकमा गाउँपालिकाको केन्द्रमा पुग्न ४५ मिनेट लाग्ने गरेको अवस्थामा सिधै १५ मिनेटमा गलेश्वरबाटै केन्द्रमा पुग्न सकिने नेकपामा नेता बालकृष्ण सुबेदीले बताए ।‘सडक सञ्जाल विस्तारले सहज भएको छ,‘नियमित मर्मत तथा स्तरउन्नतीमा समेत बजेट विनियोजन गर्नुपर्छ’ सुबेदीले भने ।

उनका अनुसार सडक विस्तारमा तत्कालिन जिविसबाट समेत पटकपटक सानो बजेट विनियोजन गरिएपनि गण्डकी प्रदेश सरकारले चालु आवमा ५० लाख बजेट विनियोजन गरेपछि सहज भएको बताए । उनले बजेट विनियोजनमा सामाजिक विकास मन्त्री नरदेवी पुन र सांसद विनोद केसीलाई समेत धन्यवाद दिदैं एउटा आवश्यक सडक विस्तारले मौवाफाँट सहित आसपासका बासिन्दालाई सहज भएको बताए । सडक विस्तारले विगतमा पिप्ले हुदै मौवाफाँट जानुपर्ने बाध्यता हटेको छ ।