म्याग्दीको एतिहाँसिकस्थल धौलागिरी गाउँपालिका–७ मा अवस्थित ताकमकोतको पूनर्निर्माणमा भक्तपुरे कलात्मक इट्टाको प्रयोग गरिएको छ । पुरातात्विक महत्वका प्राचीन शैली र एतिहासिक महत्वलाई कायम राख्न ताकम कोतमा भक्तपुरबाटै विभिन्न आकृति भएका इट्टालाई प्रयोग गरिएको हो ।

नेपालमै प्राकृतिक सम्पदाको संरक्षणमा अगाडी रहेको भक्तपुरमा प्रयोग गरिएका पूराना शैलीका इट्टामा विभिन्न भगवान सहित पुर्ननिर्माणको क्रममा मन्दिरलाई बाईसे चौबीसे राज्यका पालामा जस्तै देखिने गरी इट्टाको प्रयोग गरिने मन्दिर पुननिर्माण समितिका संयोजक तेजेन्द्र थापाले बताए । ‘भक्तपुरे इट्टाको प्रयोगलाई प्राथमिकता दिएका छौ,‘मन्दिरसम्म ढुवानी सहित प्रति इट्टा २ सयसम्म परेको छ’ थापाले बेनीअनलाइनलाई भने ।

नेपालमा पुराना सम्पदाको संरक्षण तथा पुर्ननिर्माणमा भक्तपुरको इट्टाको प्रयोग गर्ने गरिएकाले पनि पश्चिम म्याग्दीकै धार्मिक तथा पर्यटकीय गन्तब्यको रुपमा स्थापित ताकमकोतमा आवश्यक इट्टा दरबाङसम्म ढुवानी गरी त्यहाँबाट ट्याक्टरमा मन्दिरसम्म पु¥याइएको धौलागिरी गाउँपालिका वडा नं ७ का अध्यक्ष कलानिधि सुबेदीले बताए ।‘इट्टाको प्रयोगपछि मन्दिर कलात्मक देखिन्छ,‘मन्दिरमा पहिलोपटक आउनेलाई सयौंबर्ष पुरानो जस्तै देखिने गरी पुनर्निमाण भइरहेको छ’ सुबेदीले भने ।

उनका अनुसार मन्दिर तथा आसपासका संरचनाले भक्तजन तथा आन्तरिक पर्यटकलाई सहज हुने बताए । मन्दिरलाई धार्मिक बाहेक पर्यटकीयस्थल बनाउन आवश्यक सरचनालाई पुरानै रुप दिने प्रयास गरिएको बताइएको छ । मन्दिरमा आवश्यक पर्ने इट्टालाई काठमाण्डौमा रहेका ताकमबासीले खरिद तथा ढुवानीमा सहयोग गरेका छन् ।

भक्तपुरको इट्टालाई दिगो र प्राचिनकालिन सम्पदामा प्रयोग गर्ने इट्टाको रुपमा लिने गरिन्छ । सयौंबर्ष अगाडी भक्तपुरमा निर्मित सम्पदामा प्रयोग गरिएका इट्टाकै कारण पनि नेपालका विभिन्न जिल्लामा समेत त्यहाँबाट इट्टा लैजाने गरिएको छ । ताकमकोतमा भक्तपुरको इट्टासँगै बि.श १९९० को भुकम्पमा परेर मन्दिर भत्किएपछि पुरिएका पुराना इट्टा, पुराना काठ र कलात्मक ढुंगा समेत प्रयोग गरिने जनाइएको छ । ताकमकोत, जगन्नाथ अन्नपूर्ण मन्दिरको पुरानो स्वरुपलाई बाईसे चौबीसे राज्यका पालामा थापा राजाले दुई सय बर्ष राज्य सञ्चालन गरेको मन्दिरमा धवलागिरी र मालिका गाउँपालिकाबाट बर्षेनी पुजाआजा गर्ने गरिन्छ ।

समुन्द्री सतहदेखी दुई हजार ६ सय मिटर उचाईमा अवस्थित मन्दिरबाट धौलागिरी, गुर्जा, चुरेन, पुथा, निलगिरी, अन्नपूर्ण लगाएतका हिमश्रंखला, घना जंगल, ग्रामिण बस्तीको अवलोकन गर्न सकिन्छ । उनका अनुसार अन्नपूर्ण, दुर्गा, जगन्नाथ देवीदेवताको मुर्ती रहेका कोतमा पुजाआजा र भाकल गरेमा मनोकामना पुरा हुने जनविश्वासले बर्षेनी सयौंको संख्यामा भक्तजन पुग्ने गरेको धवलागिरी गाउँपालिकाका शिक्षा संयोजक गिरीप्रसाद छन्त्यालले बताए ।

नवदुर्गा, जेष्ठी पूर्णीमा, मंसिर पुर्णीमा चैत्राष्टमीमा पुजाआजा र भाकल गरी बली दिने गरिन्छ। गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले कोत मन्दिर सहित भक्तजन र पर्यटकलाई त्यहाँ पुग्न आवश्यक पूर्वाधार विस्तार भइरहेको ताकमका यूवा गोपाल आचार्यले बताए । कोत घरमा तोप, खुँडा, खुकुरी, ढाल, तरबार लगाएतका ऐतिहाँसिक महत्वका हतियार, पुराना साम्रागी रहेका छन् ।कोतमा सुरुङ्गा छेलोको खत, ओखल, गस्ती स्थल, पर्खाल, ईटा, बंकर, मन्दिर मुर्ती लगाएत तत्कालिन समयमा दरवारको सुरक्षामा आवश्यक पर्ने गढी, किल्ला, तामाको आवाज आउने गल्छी, दमाह आकारको ढुंगा लगाएत रहेका छन् ।

Leave a Reply