गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन भ्रमण वर्षको रुपमा मनाइरहेको छ । यस वर्षमात्रै १० लाख आन्तरिक पर्यटन प्रदेशमा भित्र्याउने लक्ष्य सरकारको हो ।त्यसै सन्दर्भमा आन्तरिक पर्यटनलाई बढावा दिन आगामी आर्थिक वर्षको बजेटमा समेत गण्डकी प्रदेशले आफ्ना कर्मचारीलाई तलबी बिदा दिएर घुम्न पठाउने योजना ल्याएको छ ।

आन्तरिक पर्यटनको प्रवद्र्धन र घुम्ने परिपाटीको विकास गर्न सरकारले यस्तो कार्यक्रम ल्याएको हो।प्रदेशबाट प्रवद्र्धन गरिएका होमस्टे भएका गाउँहरु घुम्न र होमस्टेमै बस्न प्रेरित गर्ने सरकारको उद्देश्य छ । होमस्टे पुगेर त्यसको बिल पेस गरेपछि सरकारले भ्रमण बिदा र बिदा अवधिको तलब उपलब्ध गराउने भएको हो ।

‘यस किसिमको सुविधा प्रदेश सरकारबाट स्वीकृत कार्यविधिबाट सञ्चालन गर्न बजेटको व्यवस्था मिलाएको छु’ अर्थमन्त्री किरण गुरुङले भने ।बिदाको प्रकृति कस्तो निर्धाराण गर्ने भन्ने कार्यविधिले टुंगो लगाउनेछ ।नेपाल सरकारबाट निजामती कर्मचारीका लागि घोषणा गरिएको तलब वृद्धि दरमा एकरूपता हुने गरी प्रदेश सरकारमा कार्यरत कर्मचारीको तलव वृद्धि समायोजन गरिने पनि अर्थमन्त्रीले सुनाए ।

उनले भने, ‘प्रदेश सरकारको तहगत संरचना अनुसार तलब स्केल कायम गरिनेछ । साथै, प्रदेश सरकारले गठन गरेका नयाँ संरचना अनुसारका पदहरूमा पदपूर्ति गर्ने व्यवस्था मिलाएको छु ।’यो सुविधा प्रदेश सरकारका कर्मचारीका लागि उपलब्ध हुनेछ ।आगामी आर्थिक वर्षलाई छिमेकी आकर्षण भ्रमण वर्षको रुपमा मनाउन सरकारले एक करोड रुपैयाँ विनियोजन समेत गरेको छ ।

Leave a Reply