Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

रघुगंगा गाउँपालिकाको गाउँसभा : महिलालाई रोजगार, यूवालाई उत्पादनमुखी क्षेत्रमा प्रोत्साहन

म्याग्दीको रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रममार्फत त पूजिगततर्फ ११ करोड ५८ लाख ३१ हजार र चालुतर्फ १९ करोड ८३ लाख गरी कुल ३१ करोड ४१ लाख ३१ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँसभाको उद्घाटन गदैं अध्यक्ष भव बहादुर भण्डारीले हरेक जनताको घरदैलोमा पुग्ने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको बताउनुभयो ।

गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहिबार आयोजित गाउँसभामा कृषि, पर्यटन, जलविद्युत, रोजगार तथा विकासका योजनालाई प्राथमिकता दिएको बजेटले विगतमा टुक्रे योजनाले जनताको आवश्यकतालाई समाधान नगरेको भन्दै एक वडा १ गौरवको योजना, ५ लाखभन्दा माथिका योजनाहरूलाई प्राथमिकता, एक घर एक महिला रोजगार कार्यक्रम, सबै ८ वडाका महिलाहरूको तथ्याङ्क संकलन गरी क्षमता अनुसारको रोजगारी दिने, महिला सशक्तिकरणका साथै उद्मशिलताको विकास गर्न उपाध्यक्षसँग महिला कार्यक्रम समेत सञ्चालन गर्ने जनाएको छ । यूवालाई उत्पादन र सीपमुखी बनाउन गाउँपालिका भित्रका ३ वटा स्थानमा तालिम केन्द्र सञ्चालन, बाँझो खेतमा उत्पादनलाई जोड दिइएको छ ।

महिलालाई आत्मनिर्भर बनाउन वडा, गाउँटोलमा सीप विकास तालिम, वडास्तरमा यूवाहरूलाई सामाजिक तथा उत्पादनमुखी क्षेत्रमा सक्रिय बनाउन अध्यक्षसँग यूवा कार्यक्रम, टुक्रे योजनाले विकासको नाममा फैलिएको विकृतिलाई हटाउँदै एक वडा एक गौरवको योजना सञ्चालन, असारे विकासलाई अन्त्य गदैं आगामी आव २०७६÷०७७ को श्रावण महिनाबाटै सम्झौता, गौरवको योजनालाई आवश्यकता अनुसार मेशिनरी उपकरणको प्रयोग र ठेक्का प्रकृयालाई प्राथमिकता दिएको छ ।

विपत्तको जोखिममा रहेका वडामा एकिकृत सामुहिक बस्ती, सुकुम्बासीलाई घर, विपन्नको खरको छाना विस्थापित लगाएत जनताका आवश्यकता अनुसारका योजना समेटिएको छ । गाउँपालिका अध्यक्षसँग यूवा र उपाध्यक्षसँग महिला कार्यक्रम, सामाजिक सुरक्षा भत्ता बाहेक पनि यूवाहरूलाई केन्द्रित गरी रोजगारमुलक योजनाहरू निति तथा कार्यक्रममा समेट्ने प्रयास गरिएको छ ।

गाउँपालिका भित्रका विभिन्न पर्यटकीयस्थलमा पूर्वाधार तथा हरेक बर्ष गाउँपालिकास्तरीय पर्यटन महोत्सवलाई जोड दिइएको छ । गाउँसभाको अवसरमा प्रस्तुत नीति तथा कार्यक्रममा वडा अध्यक्ष तथा कार्यपालिका सदस्यले आफ्नो धारणा राखेका थिए । गाउँसभाको अध्यक्षता अध्यक्ष भण्डारी र सञ्चालन प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले गरेका थिए । गाउँपालिका उपाध्यक्ष कमला तिलिजाको बजेट सम्बोधन, वडा नं ६ का अध्यक्ष मनकुमार शेरपुञ्जाले बाचन गरेका थिए । यसैबीच आगामी असार २० गतेसम्मलाई गाउँसभा स्थगित गरिएको छ ।

Exit mobile version