पश्चिम म्याग्दीको ताकमको अवस्थित जगन्नाथ–अन्नपूर्ण मन्दिर र ताकम कोतघरको पुर्ननिर्माणको कार्यले तिब्रता पाएको छ। धवलागिरी गाउँपालिका–७ ताकमको शीरमा मा अवस्थित मन्दिर र कोतघरको पुर्ननिर्माणमा स्वदेश तथा विदेशमा रहेका ताकमबासीले आर्थिक संकलन गरी पुर्ननिर्माणको अभियानलाई तिब्रता दिएका छन् ।

समुन्द्री सतहदेखी दुई हजार ६ सय मिटर उचाईमा अवस्थित पुरानो मन्दिरलाई प्राचिनकालको झल्को दिने गरी भक्तपुरको इट्टा प्रयोग गरिएको छ । मन्दिर नजिक सडक सञ्जाल पुगेको छ भने रेलिङ सहितको पदमार्गबाट मन्दिरमा पुगिन्छ । मन्दिरमा बस्ने सत्तल, शौचालय सहित खानेपानीको संरचना अन्तिम चराण्मा पुगेको छ भने मन्दिर आसपासका क्षेत्रमा रहेका पुराना पूर्वाधारलाई समेत ब्यवस्थित गर्ने प्रयासमा रहेको निर्माण समितिका अध्यक्ष तेजेन्द्र थापाले बताए ।

उनका अनुसार मन्दिरमा हालसम्म संकलन गरिएको आर्थिकबाट पूर्वाधारमा खर्च गरिएपनि लक्ष्य अनुसारको संरचना बनाउन पहिलोचरणमै २ करोड ५० लाखको लागत लाग्ने बताए ।समितिले पहिलो चरणमा मन्दिर र कोतको निर्माण, सत्तल लगाएतका संरचनालाई प्राथमिकतामा राखेको छ ।

जिल्लामै पर्यटकीय तथा धार्मिक सम्भावना बोकेको ताकमकोत जगन्नाथ अन्नपूर्ण मन्दिरको पुरानो स्वरुपलाई असर नगर्ने गरी पूननिर्माण तथा जिर्णद्धार गरिने वडा अध्यक्ष कलानिधि सुबेदीले बताए । उनका अनुसार वडा र गाउँपालिकाले समेत ताकमकोतलाई प्राथमिकता दिएर अभियानमा सहयोग गरिरहेको छ । विशेषगरी विदेशमा बस्ने ताकमबासीको यो अभियानमा ठूलो योगदान रहेको मन्दिरमा आर्थिक जुटाउने अभियानले अपेक्षा गरे अनुसार नै प्रगति भइरहेको बताइएको छ ।

कोत तथा मन्दिर आसपासबाट देखिन मनोरम दृष्य तथा प्राचिनकालमा त्यहाँ भएका घटनालाई समेत स्थानीयले भविस्यमा अभिलेखमार्फत घुम्न र पूजाआजा गर्न जानेलाई देखाउने गरी तयारी गरेका छन् । अन्नपूर्ण, दुर्गा, जगन्नाथ देवीदेवताको मुर्ती रहेका कोतमा पुजाआजा र भाकल गरेमा मनोकामना पुरा हुने जनविश्वासले बर्षेनी सयौंको संख्यामा भक्तजन पुग्ने गरेका छन् ।

नवदुर्गा, जेष्ठी पूर्णीमा, मंसिर पुर्णीमा चैत्राष्टमीमा पुजाआजा र भाकल गरी बली दिने गरिन्छ । मन्दिर वि.स १९९० र २०७२ को भुकम्पका कारण जिर्ण बनेको थियो । कोत घरको रुपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहाँसीक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाल लगायतका हात हतियार छन् ।सुरुङ छेलोको खत, ओखल, गस्ती स्थल, पर्खाल, ईटा, बंकर, ओदान, मन्दिर, मुर्ती, फलामको छाता, माटाको शंख, खानी, तामाका खड्कुला, कोइलाटा, गढी, किल्ला, तामाको आवाज आउने गल्छी, दमाहा स्वरुपको ढुंगा लगायत सामग्री छन् । छिमेकी मालिका गाउँपालिकाको देविस्थानबाट समेत कोतसम्म पुग्ने गर्दछन् ।

पर्यटकीय गन्तब्यका प्रसस्तै आधार
पश्चिम म्याग्दीको धारापानी तथा मालिका गाउँपालिका ५ देविस्थानबाट सहजै मन्दिरसम्म पुग्ने पदमार्गको परिकल्पना समेत गरिएको छ । धारापानी हुदै ताकम, सिवाङ, काफलडाँडाबाट कोतमा पुगिन्छ भने धारापानीबाट धुरीहुदै पदमार्ग र देविस्थानबाट समेत पदमार्ग बनाउन सकेमा ग्रामिण पर्यटनको सुन्दर गन्तब्यका रुपमा ताकमकोतलाई चिनाउन सकिने धवलागिरी गाउँपालिकाका शिक्षा संयोजक गिरीप्रसाद छन्त्यालले बताए ।

उनले गुरिल्ला, धौलागिरी आधार क्षेत्र र ढोरपाटन शिकार आरक्ष जाने आन्तरिक तथा बाह्य पर्यटकलाई कोतसम्म पुग्ने गरी विभिन्न जानकारीमुलक साम्रागीलाई बेनी, पोखरा, काठमाण्डौका पर्यटन ब्यवसायीलाई समेत उपलब्ध गराएर सहयोग माग्न सकिने बताए । कोतमन्दिरबाट धौलागिरी, गुर्जा, चुरेन, पुथा, निलगिरी, अन्नपूर्ण लगाएतका हिमश्रंखला, घना जंगल, ग्रामिण बस्तीको अवलोकन गर्न सकिन्छ ।

Leave a Reply