धौलागिरी हिमालको प्रतिविम्ब (फोटो) स्पष्टरुपमा देखिने पश्चिम म्याग्दीको मालिका–१, निस्कोटमा अवस्थित बराहताल संरक्षणको पर्खाइमा रहेको छ । साविक निस्कोट गाविसको ९ नम्बर वडामा पर्ने तथा निस्कोट गाउँको शिरानमा रहेको बराहताल आवश्यक संरक्षण, प्रचारप्रसार तथा प्रवद्र्धनको पर्खाइमा रहेको हो ।

करिब २ रोपनी क्षेत्रफलमा फैलिएको बराहतालले प्रचुर मात्रामा पर्यटकीय सम्भावना बोकेको छ । समुन्द्री सतहदेखि झण्डै २ हजार २ सय मिटरको उचाइमा अवस्थित रहेको ताल र तालको आसपासबाट विभिन्न हिमश्रृङ्खलाहरु देखिन्छ । त्यहाँबाट संसारको सातौं तथा नेपालको दोस्रो अग्लो धौलागिरी हिमालसहित गूर्जा, निलगिरी, अन्नपूर्ण, माछापुच्छे«, मानापाथी लगायतका आधा दर्जन बढी मनोरम हिमश्रृङ्खलाहरुको प्रत्यक्ष अवलोकन गर्न पाइन्छ । तालनजिकै एउटा तामाको घैंटो (चिन्नो) पनि रहेको छ ।

घना वनजङ्गल र केही गाउँवस्तीको बिचमा रहेको तालमा वनजङ्गल र हिमालहरुको प्रतिबिम्ब (छाँया) निक्कै आकर्षक अनि मनमोहक देखिन्छ । स्थानीयका अनुसार ताल झण्डै २० मिटरभन्दा बढी गहिरो रहेको बताइएको छ । पर्यटकीय महत्व बोकेको बराहताल संरक्षणका लागि यसअघि साविक निस्कोट गाविसले तालसम्म पुग्ने पदमार्ग, तालको सुरक्षाका लागि घेराबार निर्माण र छिमेकी बागलुङ जिल्लाको सिमाना ताराखोलाको धुरीमा पुग्न पदमार्ग निर्माण गरेको जनाएको छ ।

यसैगरी चालु आर्थिक वर्षमा निस्कोट गाउँदेखि बराहतालसम्म पुग्नका लागि पर्यटन पदमार्ग निर्माण तथा तालको संरक्षणलगायत आवश्यक कार्यक्रम गर्न पाँचलाख रुपैयाँ बजेट विनियोजन गरिएको मालिका–१ निस्कोटका वडा सचिव छविलाल उपाध्यायले बताए ।

वनजङ्गलको बिच भागमा रहेको ताल भए पनि त्यसमा कुनै पनि पातपतिङ्गरहरु नभएको र बिहान सबैरै २ ओटा जलहाँस जलक्रिडा गर्न आउने तालको विशेषता भएको सचिव उपाध्यायको भनाइ छ । तालको उचित संरक्षण र विकास तथा प्रचारप्रसार गर्न सकेको खण्डमा निस्कोट गाउँमा सयौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरुको प्रशस्तै सम्भावना रहेको स्थानीयहरु बताउँछन् । बागलुङको ताराखोला धुरी जोडिने पर्यटन रुटमा पर्ने तालको आवश्यक प्रचारप्रसार गर्नुपर्ने वडा सदस्य दिलकुमार पुनले जानकारी दिए ।

उनका अनुसार तालको विकास सँगसँगै निस्कोट गाउँको शिरमा भ्यु–टावरको निर्माण गर्न सकिने सम्भावना पनि रहेको छ । गाउँको शिरबाट छिमेकी ओखरबोट, रुमलगायत अन्य गाउँहरुको आकर्षक र मनमोहक दृश्य देखिने हुँदा भ्युटावर बनाउनुपर्ने उनको भनाइ छ ।

Leave a Reply