म्याग्दीको सदरमुकाम बेनीस्थीत माउण्ट एभरेष्ट आवासीय माविमा नेपाली सेनाको जूनियर डिभिजन अन्र्तगत राष्ट्रिय सेवा दलले विद्यार्थीलाई विभिन्न किसिमको अभ्यास सञ्चालन गर्ने भएको छ । विद्यार्थीको ब्यक्तित्व र नेतृत्व विकास गर्न विगतमा सामुदायिक विद्यालयमा सञ्चालन गरिएको तालिम पहिलोपटक नीजि विद्यालयका विद्यार्थीलाई समेत आत्मरक्षा सहित विपद्, सामाजिक गतिविधिमा केन्द्रित गरी तालिम सञ्चालन गरिने भएको हो ।

तालिमको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले उद्घाटन गदैं सभ्य समाज निर्माणमा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने बताए । उनले विपद् ब्यवस्थापनमा विद्यार्थीले सिकेको सीपलाई प्रयोग गर्नुपर्ने बताए । नेपाली सेना श्रीबक्स गुल्मका सहसेनानी दिपक विष्टले तालिमका बारेमा जानकारी गराएका थिए । सोही अवसरमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापा, न्यू वेष्ट पोइन्ट आवासीय माविका सरोज लाकान्दे्रले विद्यार्थीलाई शैक्षिकसँगै अतिरिक्त क्रियाकलापमा समेत जोड दिनुपर्ने बताएका थिए ।

विगतमा बेनी सामुदायिक मावि, प्रकाश मावि र जामुनाखर्क माविमा सञ्चातिल तालिम उपलब्धिमुलक देखिएको अवस्थाम पहिलोपटक नीजि विद्यालयले समेत अवसर पाएकोमा विद्यालयका कार्यवाहक अध्यक्ष प्रमोद श्रेष्ठले धन्यवाद दिएका थिए । उनले तालिमले विद्यार्थीको जीवन शैलीमा नै परिवर्तन ल्याउने बताए । भट्ट हेर्दा कुनै फौजी हमलाका लागि गरिएजस्तो देखिने अभ्यासमा विद्यालयमा कक्षा ८ र ९ का ४० विद्यार्थीको सहभागिता रहेको छ ।

अभ्यास कुनै भौतिक आक्राणका लागि नभई राष्ट्रमा आवश्यता परेको बेलामा स्वयमसेवकको भुमिका निर्वाह गर्न सहज हुने बताइएको थियो । स्थानीयस्तरमा हुने विभिन्न घटना सहित राष्ट्रलाई आवश्यक परेमा स्वंयमसेवकको भूमिका निर्वाह गर्ने गरी नेपाली सेनाले यस्ता तालिम सञ्चालन गर्ने गर्दछ । तालिमले छनौट भएका विद्यार्थीको अल्छीपन हटाउनुका साथै प्राकृतिक विपत्तीमा परेका नेपालीलाई उद्धार गर्न आवश्यक तालिम समेत उपलब्ध गराउने जानकारीले विद्यार्थी उत्साहित छन् ।प्रवचनको अवसरमा बेनी नगरपालिकाका मेयर, वडाका सदस्य तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, बेनीका निजी विद्यालयका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।

७९ दिनसम्म विद्यालयमा चल्ने तालिममा अनुशासन, नेतृत्व सीप, सैद्धान्तिक, एरोवीक्स, मास, पिटी, तेक्वान्दो, नक्सा अध्ययन, खुकुरी ड्रिल, भिडमा बोल्ने तरिका, लागुऔषध, चेलीवेटी बेचविखन विरुद्ध, खोज उद्धार सम्बन्धित ज्ञान सिकाइने छ । तालिममा भिडमा बोल्ने तरिका, नेतृत्व विकास, लागुऔषध, चेलीवेटी बेचविखन विरुद्ध, खोज उद्धारलाई समेत विषेश प्राथमिकता दिइएको छ ।

Leave a Reply