उपप्रमुखको कार्यकक्षको झुलामा दुई वर्षीय छोरा सुत्छन् । उनलाई झुलाउन उपप्रमुखका पति खटिएका छन् । खासमा उनी उपप्रमुखका स्वकीय सचिव हुन् । बर्दियाको बाँसगढी नगरपालिकाकी उपप्रमुख सुष्मा चौधरीले चुनाव जित्दा ३ महिनाका शिशु काखमा थिए । उनले छोराको रेखदेख गर्न पतिलाई स्वकीय सचिवमा नियुक्त गरिन् । छोराको हेरचाह गर्नु र फुर्सद मिलेमा सामान्य सरकारी कामकाजलाई सघाउनु स्वकीय सचिव मंगल चौधरीको काम हो ।

उपप्रमुख सरकारी कामका लागि टाढा जानुपर्दा छोरा बोक्दै पति पनि जान्छन् । ‘हो, मेरा पतिले छोरा हेर्नुहुन्छ र मेरो सचिवालयलाई सघाउनु पनि हुन्छ,’ उनले भनिन् । स्वकीय सचिवको औपचारिक व्यवस्था भने गरिएको छैन । आन्तरिक स्रोतबाट तलब दिने गरी खरिदारसरहको दरबन्दी सिर्जना गरिएको छ ।

त्यसका लागि मासिक २३ हजार ५ सय रुपैयाँ पारिश्रमिक दिइन्छ । कानुनी रुपमा भने मिलाउन अप्ठ्यारै छ । नगरपालिकाका कानुन अधिकृत विकास आचार्यका अनुसार स्वकीय सचिव राख्दा विधि पूरा गरिएको होइन । वार्षिक एक लाख रुपैयाँभन्दा बढी रकम दिनुपरे व्यक्तिले स्थायी लेखा नम्बर परिचय पत्र (प्यान नम्बर) लिनुपर्छ । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।

Leave a Reply