म्याग्दीको सदरमुकाम बेनीको अस्पताल चोकमा बाढी पसेको छ । बुधबार दिउँसोको बर्षासँगै अस्पतालचोक देखि जामुनाखर्क क्षेत्र जोड्ने ग्रामिण सडकबाट झरेको लेदोमाटो, ढुङ्गा र गेगरसहितको बाढीले बेनी अस्पतालको प्रवेशद्धारसँगै आसपासका क्षेत्रमा रहेका दुईवटा छाप्रोभित्र बाढी पसेको छ भने कालिपुल बसपार्क, ट्राफिक प्रहरी कार्यालय लगाएत आसपासको क्षेत्रमा केही बेर आवतजावत अवरुद्ध भएको थियो ।

सडकखण्डबाट आएको ढुङ्गा र गेगरलाई स्थानीयले पन्छाएपछि सडक नियमित भएको छ । बर्षा लगत्तै उर्लिएर बाढी आएपछि बेल्चा लगाएतका साम्रागी प्रयोग गरेर हटाइएको स्थानीयले बताए ।‘विकासको नाममा जनप्रतिनिधिले अस्पतालचोकबासीलाई दिएको उपहार हो’ एक स्थानीयले भने । क्याम्पसचोकजस्तै अस्पताल चोकमा पनि बाढीले सताउने भन्दै विकास निर्माणको क्रमाम प्रक्रिया पुरा नगरी हचुवामा विस्तार गर्दा अस्पतालचोक, कालिपुल बसपार्क लगाएत आसपासका क्षेत्रमा बर्षाको समयमा असर गर्ने स्थानीयको भनाई छ।

सडक विस्तारमा पटकपटक मापदण्ड र जोखिम ब्यवस्थापनलाई ख्याल गर्न अनुरोध गर्दा समेत बेवास्ता भएको स्थानीयले गुनासो गरेका छन् । बेनीबजार माथिको क्षेत्रबाट विस्तार गरिएको बेनी–पाखापानी सडकखण्डबाट जथाभावी फालिएको माटोसँगै बगेर आएको लेदोले क्याम्पसचोकसहित बेनीबजारको १२० बढी घरमा असर गरेपछि बेनीबजार आसपासका क्षेत्रबाट सडक विस्तारलाई कम प्राथमिकता दिन प्राविधिकको टोलीले पटकपटक सुझाव दिएपनि बेवास्ता गर्दा बजार क्षेत्रमा बाढीको जोखिम कायमै रहेको छ । अस्पतालचोकमा डेढ दशक अगाडीसम्म प्राकृतिक रुपमा रहेका खोल्सा रहेपनि बजार विस्तारसँगै च्यापेर घर सहितका पुर्वाधार बनाइएको छ ।

क्याम्पसचोकबाट जामुनाखर्क जोड्ने सडकमा बेनपा ६ र ८ ले बजेट विनियोजन गरेको छ । बेनी–जामुनाखर्क दु्रत मार्गको नामाकरण गरिएको सडकखण्ड आसपासमा लेदोमाटो, पहिरो तथा सडक विस्तारको क्रममा यत्रचत्र फालिएको माटोका कारण अस्पतालचोक आसपासका क्षेत्र उच्च जोखिममा रहेको समाचार यसअगाडी बेनीअनलाइनले प्रकाशित गरेको थियो । करिव ६ लाखको लागतमा सम्पन्न भएको सडकखण्डमा पैदलयात्रा गर्न समेत मुस्किल छ । करिव १.६ किलोमिटर सडकखण्ड अन्तरगत विभिन्न स्थानमा तत्काल ब्यवस्थापन गर्नुपर्ने अस्पताल चोकबासीको माग छ ।

नगरपालिकाले उपलब्ध गराएको बजेट समेत ब्यवहारिक रुपमा कार्यान्वयन नहुनु, जनताको सहभागिता न्युन, प्राकृतिक खोल्सीहरूलाई निकास सहित जथाभावी सडकको विस्तार, आवश्यक पुर्वाधार निर्माणमा समेत चासो नपुग्नु नै बाढीको प्रमुख कारण भएको प्राविधिक पक्षको भनाई छ । पक्कि नाली, पानीको तिब्र गतिलाई नियन्त्रण र ठुला बस्तु रोक्ने छेकबाँध बनाउने र अस्पताल गेट देखि तल नाली सफा गरेमा भविस्यमा केही सहज हुने प्राविधिक टोलीको भनाई छ ।

भिडियो सौजन्य: नारायण घर्ती क्षत्री

Leave a Reply