टिनको छाप्रो, त्यही छाप्रोभित्र छ सानो आरन । आरनको छेउमा बसेर ट्याकट्याक, टुकटुक पार्न थालेको सयौं दिन बितिसके । अझै कति समय बिताउने हो त्यो थाहा छैन । आरनमा बसेपछि दिन बितेको पत्तै हुँदैन । भोक, तिर्खा पनि लाग्दैन । आरन पेशामै जिन्दगी बिताएका म्याग्दीको बेनी नगरपालिका–५, डडुवाका हर्कबहादुर विश्वकर्माको जाँगर अझै उस्तै छ । सानै उमेरदेखि फलाम र आरनको काम गर्ने सिप सिकेर उहाँले आरन पेशा थाल्नुभएको हो ।

आरन पेशा आफ्नो बाबुबाजेले गर्दै आएको हुँदा आफूहरुको पुख्र्यौली पेशा भएकाले निरन्तरता दिएको उहाँले बताउनुभयो । टिनको छाप्रामुनी रहेको उहाँको आरनमा फलामबाट बन्न सक्ने सबै प्रकारका सामान बन्छन् । नयाँ सामान बनाउने र पुरानालाई मर्मतसम्भार गर्ने काम पनि आरनमै हुन्छ ।  मानिसलाई चाहिने दैनिक उपभोग्यका सामान बनाउन विश्वकर्मा निक्कै खप्पिस हुनुहुन्छ । उहाँले आफ्नो बाबुसँगै आरनमा बसेर फलामको काम गर्न सिकेको

बताउनुभयो । १२ वर्षको उमेरदेखि आरन पेशामा लाग्नुभएका उहाँले आरनको सहयोगमा खुकुरी, बन्चरो, हँसिया, कुटो, कोदालो, थेबे, फाली, छिनो, टुकटुके, दाबे जस्ता दैनिक जीवनमा आवश्यक पर्ने सबै सामान बनाउनुहुन्छ ।उहाँले काँचो फलाम किनेर विभिन्न सामानहरु निर्माण गर्दै आउनुभएको छ भने विद्युतको सहायताबाट तिनै फलामका सामानहरु चम्काउने गर्नुहुन्छ । आरन पुरानो भए पनि निकै आकर्षक र लाग्ने खालका सामान बन्छन् । विश्वकर्मासँग घरेलु हतियार बन्दुक र नौमती पञ्चेबाजा अन्तर्गतको सनई बनाउने सिप पनि रहेको छ । आरनमा बनेको खुकुरीलाई न्युनतम तीनहजार रुपैयाँदेखि आठ हजारसम्म मूल्य पर्दछ ।

यसैगरी हँसिया र फालीलाई एक–एक हजार, कोदाली, टुकुटुके एकहजार पाँचसयको दर तथा थेबेलाई १२ सय रुपैयाँ मूल्य पर्ने उहाँले जानकारी दिनुभयो । आरनबाट दैनिक रुपमा चाहिने विभिन्न प्रकृतिका सानादेखि ठूला सामानहरु बन्छन् । आरनमा फलामबाट निर्मित सामान उदाउने ९अर्जाब्ने० काम पनि हुन्छ । उमेरले ४९औं वसन्तमा घुम्दै गरेका हर्कबहादुर फलामको साथै काठको काम गर्न पनि सिपालु हुनुहुन्छ । काठबाट बन्ने हलो, जुवा, डाँडो, लिँड्को र साओ ९मोही० जस्ता सामानहरु बनाउने आफूसँग सिप रहेको उहाँको भनाइ छ ।

हर्कबहादुरको आरनमा डडुवा गाउँसहित छिमेकी पूर्णगाउँ, चिप्लेटी, नयाँगाउँ, तातोपानी, मिठौला, सिमलचौर, वाखेतलगायत ठाउँबाट ग्राहक पुग्ने गरेका छन् । परम्परागत सिप र प्रविधिमा आधारित आरनमा सामुदायिक वन जङ्गलबाट पैयुँ, गुराँस, हाडेकाफल, मौवा र आरुपाते रुखको सहयोगमा गोल बनाएर आरन सञ्चालन गरिन्छ । वनबाट ल्याएको गोलको सहयोगबाट नै फलामका सामानहरु तिखारिन्छन् र चम्किन्छन् ।

पाँच जनाको परिवार रहेको विश्वकर्माले आरन पेशाबाटै परिवारको गुजारा चलाउने गरेको बताउँदै डडुवाको अधिकांश गाउँलेबाट आरनको काम गरेवापत उहाँले अन्नपात लिने गर्नुभएको छ । अन्य ठाउँबाट सामान बनाएको र अर्जाबेवापत ज्याला लिने गरेको उहाँले बताउनुभयो  गाउँभन्दा बाहिरबाट फलामका सामान बनाएको तथा मर्मत गरेर महिनामा ३५ हजार कमाई हुनेहुँदा २० हजार बढी अन्नपातबाटै सङ्कलन हुने उहाँ बताउनुहुन्छ । एक दर्जन हँसिया अर्जाबेवापत पाँचसय रुपैयाँ लिनुहुन्छ ।

विदेश नगए पनि विश्वकर्माले आरन पेशाबाटै परिवार धान्नुभएको छ । उहाँले छोरालाई पनि आरनको काम सिकाउन भन्दै बाबुछोराको छुट्टाछुट्टै आरन चलाउनुभएको छ । सानै उमेरमा पल्टन जाने भने पनि जान नपाएको भन्दै उहाँले यत्रो उमेर भैसक्दा समेत आफू अझै पोखरा पनि नगएको खुलासा गर्नुभयो ।

Leave a Reply