जापानको नागोयामा उपचारको क्रममा मृत्यु भएकी रघुगंगा गाउँपालिका–३ पिप्लेकी प्रमिला दर्जीको नवजात शिशुको पालनपोषण र शिक्षादिक्षाका लागि मोना जापानले करिव ७ लाख आर्थिक सहयोग संकलन गरेको छ । मोना जापानले संकलन गरेको ६ लाख ७७ हजार ७८८ रुपैयाँ शिशु प्रसिद्धी दर्जीको नाममा गरिका विकास बैंकको केन्द्रिय कार्यालयमा रहेको खातामा जम्मा गरिएको मोना जापानका महासचिव गणेश श्रेष्ठले बताए ।

‘पालनपोषणदेखि शिक्षादिक्षामा खर्च गर्ने गरी मुद्धतिमा राखिएको छ,‘आर्थिक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दछौ’ श्रेष्ठले भने । रोजगारको सिलसिलामा जापान पुगेकी दर्जीको ब्रेन ट्यूमर रोगबाट ग्रसित थिईन् । ब्रेन टयूमरको अन्तिम स्टेजमा पुगेको चिकित्सकले जानकारी दिएपछि शिशुलाई जन्म दिएकी दर्जीको अन्त्येष्टी जापानमै गरिएपनि एकमहिनाको शिशुलाई नेपालमा ल्याइएको थियो ।

उपचार तथा अन्त्येष्टिसम्म मोना जापान र क्षेत्रीय समिति नागोयाबाट आर्थिक तथा आवश्यक कानुनी प्रक्रियामा समेत सहयोग गरिएको थियो । मोना जापानका अध्यक्ष दिपक केसीले अस्पतालको शैयामै एक म्याग्देली चेलीलाई गुमाउनुको पीडालाई नजिकबाट हेरेको बताउँदै सहयोगलाई बालिकाको शिक्षादिक्षा र पालानपोषणमै खर्च गरिने बताए । ‘जन्मदिने आमालाई गुमाएकी उनलाई आर्थिक अभाव हुन नदिने गरी सहयोग जुटाएका छौ’ केसीले भने ।

उनले संकलन गरिएको आर्थिकलाई मोना जापानको प्रतिनिधि सहित आफन्तको नाममा बैकमा राखिएको बताउँदै भविस्यमा थप कार्यविधि बनाएर बालिकाको हितमै खर्च गर्ने बताए । बैंकमा मोना जापानको तर्फबाट चित्रबहादुर केसी, शिशुको तर्फबाट मामा र अर्का आफन्त गरी तीनजनाको नाममा खाता सञ्चालन गरिएको छ। यसअगाडी मोना जापान क्षेत्रीय कार्यसमिति नागोयाले ८९ हजार सहयोग हस्तान्तरण गरिसकेको छ।

Leave a Reply