बेनी सामुदायिक माविमा कक्षा ९ मा अध्ययरत मिलन रेग्मीले जिसस प्रमुख देबेन्द्रबहादुर कटुवाललाई विद्यार्थीको समस्याका बारेमा कार्यकक्षमै गएर गुनासो गरे । दैनिकजसो सडकबाट उडेको धुँलोले हैरानी, कक्षा कोठाका सबै झ्याल समेत बन्द गरेर धुलो छेक्नुपर्ने, माक्स लगाएर बस्नुपर्ने जस्ता धेरै समस्यालाई जिसस प्रमुखसँगै प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी र बेनपा ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठलाई सुनाए ।

विद्यालय नजिक रहेको सडक कालोपत्रे, जेब्रा क्रस नहुदाँ दुर्घटनाको जोखिम रहेको विद्यार्थीले गुनासो गरेका थिए । विद्यालय आसपास रहेका सवारीसाधनको काउन्टर हटाउन र गाडी पार्किङ, काटिएको पिपलको रुखको ब्यवस्थापन लगाएतका बारेमा विद्यार्थीले पालैपालो जनप्रतिनिधि देखि प्रजिअसम्मलाई सुनाएर फर्किए । ‘विद्यालय नजिकै सवारीसाधन गुड्दा हामीले कक्षा कोठाबाट निस्कनुपर्ने अवस्था छ,‘हामी पढ्न भन्दा पनि धुँलोबाट जोगिन मुस्किल छ’ कक्षा ९ की अनिमा शर्माले भनिन् ।

उनले समस्यालाई शिक्षकमार्फत पटकपटक समाधानको प्रयासका लागी अनुरोध गरिएको र बाध्य भएर सम्बन्धित निकायमा आएको बताउँदै हरेक दिन धुलाम्मे भएर घर फर्किेने गरेको गुनासो गरिन् । ‘बजारमा आवश्यक नभएका ठाउँमा जेब्रा क्रस देखिन्छ,’हामीले बाटो काट्दा पनि कताबाट गाडीले ठक्कर दिन्छ भनेर सित हुनुपर्छ’ अर्का विद्यार्थी विशाल कार्कीले भने । उनले कक्षाकोठामा माक्स लगाउन नपाउने नियमका कारण मुख छोपरे पढ्ने गरेको बताउँदै समस्या समाधान गर्न अनुरोध गरे ।

विद्यालयमा विद्यार्थीले समस्याको समाधानको माग गरेको अवस्थामा लामो समयसम्म प्रयास गरिएपनि सफल नभएपछि विद्यार्थीले अनुमति लिएर सरोकारावाला निकायसँग गुनासो पोख्न गएको बताए । १८ जनाको समुहमा गएका विद्यार्थीलाई जिसस प्रमुख कटुवालले सम्बन्धि निकायलाई समस्या समाधानका लागी पहल गर्ने बताएका थिए ।

त्यस्तै् प्रजिअ अधिकारीले आफ्नो निकायबाट हुने पहल गर्ने बताउँदै ट्राफिक ब्यवस्थापनका लागी प्रहरीलाई निर्देशन दिने बताएका थिए ।त्यस्तै वडा अध्यक्ष श्रेष्ठले विद्यालयको समस्यासँग नजिक रहेको बताउँदै सडक कालोपत्रेमा नगरपालिकाले बेनी दरबाङ सडक विस्तारको जिम्मा लिएको ठेकेदारलाई दवाव दिएको बताए । उनले अन्य समस्यालाई आगामी आबको बजेटमा समेत राखिने बताएका छन् ।

विद्यार्थीले विद्यालय समयमा तत्कालका लागि सडकमा ठुला सवारीसाधन आवतजावत बन्द गर्ने वातावरण बनाउन माग गरेपनि सरोकारावाला निकायले बेवास्ता गर्दा बाध्य भएर विद्यार्थीले नै नेतृत्व गरेर गुनासो गरेको विद्यालयका सहायक प्रधानध्यापक काशिराम रेग्मीले बताए । नेपालकै सवौउत्कृष्ट सामुदायिक विद्यालयको रुपमा समेत स्थापित विद्यालयमा देशभरबाट भ्रमण गर्न आउनेको लर्को लाग्ने गरेका छन् । नेपाल सरकार शिक्षा मन्त्रालयले बि.स २०७० सालमा नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय घोषित गरेपछि थप पूर्वाधार,शैक्षिक गुणस्तर सहितका अभियानमा तिब्रता दिएको विद्यालयमा भ्रमणमा आउनेले समेत सडक तथा आसपासको वातावरणलाई सुर्धान सुझाव दिने गरेका छन् ।

Leave a Reply