गर्मी बढेसँगै अस्पतालहरुमा बिरामीको चाप बढेको छ । झाडापखाला, बान्ता, पेट दुख्ने तथा फुड प्वाइजनका बिरामी बढेका छन् । यस्ता, रोगका जीवाणुलाई गर्मी अनुकुल वातावरण हुने गरेको चिकित्सकहरु बताउँछन् । विश्वमा बढ्दो तापक्रम (ग्लोबल वार्मिङ) ले वर्षेनी गर्मी बढाएको छ । गर्मीसंगै स्वास्थ्य समस्या पनि देखिएको छ । अधिकांश रोगका जीवाणुको वृद्धि २५ देखि ४० डिग्री सेन्टिग्रेड तापक्रममा हुने गरेकोछ ।

गर्मी मौसममा वातावरणीय तापक्रम यसैको सेरोफेरोमा रहने भएकाले यो मौसममा रोगका जीवाणुको वृद्धि हुन्छ । जीवाणुहरूको वृद्धि नियमित खानामा पनि हुनसक्ने चिकित्सकहरु बताउँछन् । ती जीवाणुहरू र तिनले उत्पादन गरेका विभिन्न रसायन (टक्सिनहरू) ले विशेष गरी झाडापखाला लगाउने, बान्ता गराउने, पेट दुखाउने तथा फुड प्वाइजनिङ गराउने भएकाले सावधानी अपनाउनुपर्ने चिकित्सकहरुको सुझाव छ ।

शरीरको तापक्रममा सन्तुलन कायम राख्न बढी पानी पिउनुपर्ने हुन्छ । निर्मलीकरण गरिएको पानी मात्र सेवन गर्नुपर्छ । गर्मीबाट जोगिन तरल पदार्थको नाममा मदिराजन्य वा धेरै बढी चिनी भएको तरल पदार्थसमेत सेवन गर्नु हानिकारक हुने चिकित्सकहरु बताउँछन् ।

गर्मी छल्न पीइने रासायनिक पिय पदार्थहरुले शरीरमा भएको तरल पदार्थमा कमी गराउँछ । अत्यधिक गर्मीले शरीरको तापक्रम नियन्त्रण गर्ने प्रणालीमा अवरोध उत्पन्न गरी विभिन्न शारीरिक समस्या संगै मृत्युसमेत हुन सक्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गर्मीको बेला गम्भीर स्वास्थ्य समस्या देखिन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ ।

Leave a Reply