बेनी नगरपालिकाभित्र मेयर र कार्यपालिका सदस्य बीचको विवादका कारण अस्तब्यस्त भएको बेनी नगरपालिकाको विवाद अन्त्य भएको छ । गत महिनाको जेठ ३ गते कर्मचारी भर्ना तथा अन्य विषयमा मेयरले असहमति जनाएर बैठक स्थगित गरेपछि चर्किएको विवाद नेकपा र नेपाली कांग्रेसका नेताहरुको छलफलबाट विवाद अन्त्य गर्ने दुवैपक्ष सहमत भएका छन्।

केहीदिन यता अनौपचारिक तथा औपचारिक रुपमै छलफलमा जुटेका नेकपाका जिल्ला अध्यक्ष गोविन्द पौडेल र नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा सहितको टोलीले विवादले समृद्ध नगरको अभियानसँगै नीति तथा कार्यक्रम र बजेट नै अनिश्चित भएको अवस्थामा सहमितबाटै आइतबारको विषेश नगर बैठकलाई नगरसभामा रुपान्तरण गरी स्थगित गर्ने लगाएतका विभिन्न बुँदामा सहमति भएको नेकपाका रघुगंगा गाउँपालिका अध्यक्ष दिपक विर्खचीले बताए ।

उनका अनुसार विगतको तिक्ततापूर्ण अवस्थालाई अन्त्य गरी कार्यपालिकाको बैठकले निर्णय सहित केही एजेन्डा थप गरी पारित गर्ने, नगरसभा स्थगित गरी नीति तथा कार्यक्रम प्रस्तुत गर्ने लगाएतका छन् । नेकपाका जिल्ला अध्यक्ष पौडेल सहित सचिव हरिकृष्ण श्रेष्ठ, नेकपाका बेनी नगर अध्यक्ष शेरबहादुर केसी, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा र नेपाली कांग्रेसको तर्फबाट सभापति गर्बुजा, मेयर हरिकुमार श्रेष्ठ, पूर्व सहअध्यक्ष नेत्र बहादुर महत, सचिव मिनबहादुर कार्की, प्रबक्ता अजयमिलन श्रेष्ठ, कांग्रेस नगर सभापति अनोद श्रेष्ठ लगाएको उपस्थिती रहेको थियो ।

स्रोतका अनुसार दुवैले सम्मानजनक हुने गरी निर्णय गरिएको बताइएपनि सहमतिको अन्तिम विवरण आएको छैन् । मेयर र कार्यपालिका सदस्य बीचको विवादका कारण समयमै नीति तथा कार्यक्रम र बजेट सहित विभिन्न दिर्घकालिन प्रभावका योजनाहरु अलपत्र परेपछि नगरबासी समेत आक्रोशित थिए ।

यस्तो छ सहमति
१) आइतबारको विषेश नगर सभालाई ५ औं नगरसभामा रुपान्तरण गर्ने, आगामी बर्षको नीति तथा कार्यक्रमलाई प्रक्रियामा लैजाने र सन्तुलित प्रस्तुती ।
२) गत जेठ ३ गतेको कार्यपालिकाको बैठकको निर्णयमा केही प्रस्ताव थप गर्ने, जनशक्ती ब्यवस्थापनका लागी आधार तय गर्ने ।
३) नीति तथा कार्यक्रम, वडास्तरबाट छनौट भएका योजनाहरुलाई आधार बनाएर अगाडी बढ्ने । नेकपा र कांग्रेस नेतृत्वबीच भएको सहमतिलाई आफ्नो माध्यमबाट पार्टीमा सर्कुलर गर्ने ।
४) अदालती प्रक्रियालाई मिलापत्र गर्ने ।
५) नगरको विकासमा सहकार्य गरी अगाडी बढ्ने

नेपाली कांग्रेस म्याग्दीका प्रबक्ता अजयमिलन श्रेष्ठका अनुसार सहमतिलाई दुवै पक्षले पालना गर्ने गरी हस्ताक्षर गरेका छन् ।

Leave a Reply