म्याग्दीको सदरमुकाम बेनी हुदै मंगला गाउँपालिका जोड्ने बेनी–हाँडेभीर–सुर्केमेला–बरंजा हुदै अर्मनको किमचोर जोड्ने १० किलोमिटर कृषि सडकको स्तरउन्नती गरिएको छ । ट्याक मात्रै खोलिएको सडकलाई भौतिक पूर्वाधार मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्यालय म्याग्दीले ४८ लाख ५० हजार बिनियोजन गरेपनि बजेट अभावका कारण स्थानीय जनसहभागी ४ लाख ९५ हजार गरी कुल ५३ लाखको लागतमा सडकको घुम्तीमा साँघुरो, भिरालो जमिनमा ढलान, तीन ठाउँमा नयाँ ट्याक खोलिएको उपभोक्ता समितिका अध्यक्ष पूर्ण बहादुर गुरूङले बताए ।

उनका अनुसार सडकखण्ड अन्तरगत नयाँ पुलमा १ सय मिटर, बाहुनडाँडामा ६५० मिटर र थामडाँडा फर्निचरमा १ सय मिटर नयाँ ट्याक खोलिएको छ । सडक फराकिलो बनाउने, घुम्ती सुधार, ग्रेड मिलाउन, ढलान गरिएको सडकलाई नमुना बनाएको उनले बताए । सडकस्तरउन्नतीको स्थलगत अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर केसीले सचेत उपभोक्ताको सक्रियतामा कम लागतमा समेत धेरै काम भएको उदाहरण सडक बनेको बताए ।

अनुगमन टोलीमै रहेका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जनसहभागीताले विकास निर्माणका कार्य दिगो हुने बताए सडकखण्डमै पर्ने बास्कुनाबाट सिजनमा काठमाण्डौसम्म सुन्तला ढुवानीलाई समेत सहज भएको छ ।हेभी ट्रक आवतजावतमा समस्या हुने गरेकोमा मापदण्ड अनुसार नै सडक विस्तार भएपछि कृषकको खेतबारीबाटै सिधै ढुवानी गर्न सहज हुनुका साथै पर्यटकीय सम्भावना भएको क्षेत्र भएकाल पनि सडकमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई बरंजा क्षेत्रमा रहेका पर्यटकीयस्थलमा आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ ।

सडकखण्डबाट बेनी नगरपालिका वडा नं ३ भकिम्लीको मरेकका जनता बास्कुना हुदै आवतजावत गर्ने गर्दछन् । दुईदशक अगाडी भकिम्ली, बरंजाका जनतालाई सहज हुने गरी विस्तार गरिएको सडकलाई बेनी नगरपालिका २ बगरफाँट हुदै पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको सोलेडाँडा हुदै बागलुङको तमानलाम्मेला जोड्ने सडकको रुपमा समेत विस्तार गर्ने योजना रहेको छ । बेनी दरबाङ अवरुद्ध हुदाँ सडक प्रयोग गरी पश्चिम म्याग्दी जान सकिन्छ ।

Leave a Reply