गत हप्तामात्रै माध्यमिक शिक्षा परिक्षा (एसईई) को नतिजामा सामुदायिक विद्यालमा स्थानीयतहगत औसतमा अन्नपूर्ण गाउँपालिका अगाडी देखिएको छ । विगतका तुलनामा जिल्लाका केही सामुदायिक विद्यालयले नतिजामा सुधार गरेपनि म्याग्दीका अब्बल मानिएका विद्यालयले अपेक्षा गरे अनुसारको नतिजा ल्याउन सकेनन् । औसत नतिजामा बेनी नगरपालिका तेस्रो स्थानमा छ ।

औसतमा अगाडी देखिएपनि अन्नपूर्णको विद्यार्थी संख्या न्युन छ भने बेनी नगरपालिकाको सामुदायिक विद्यालयको अवस्था समेत कमजोर देखिन्छ । अन्नपूर्णबाट १ सय ८२ जना विद्यार्थीले परिक्षा दिएकोमा औसत २.७६९२ रहेको छ भने रघुगंगा २६० विद्यार्थीमा औसत २.६०४६, बेनी नगरपालिकाबाट ४३७ विद्यार्थीमा औसत २.४८७०, मंंगला २७७ विद्यार्थीमा औसत नतिजा २.४७६५, मालिकाबाट ३२७ विद्यार्थीमा २.३४३७ र धवलागिरीमा २७६ विद्यार्थीमा २.३०१९ औसत नजिा रहेको छ ।अन्नपुर्णको औसत नतिजा सुधार देखिनुको प्रमुख कारण त्यहाँका कुनैपनि माविमा सुन्य दरबन्दीको समस्या छैन् ।

विद्यालयको शैक्षिक तथा अभिभावक र ब्यवस्थापन समितिको सक्रियता र पुराना मावि भएकाले अनुभवी शिक्षक पनि प्रमुख कारण देखिन्छ ।औसत मापन विद्यालयले आफ्नो अनुकुलको गणितीय ब्याख्या गरेपनि अन्नपूर्णको सिकाई अवस्था जिल्लाकै धवलागिरी, मालिका, मंगला र रघुगंगाभन्दा केही फरक छ ।त्यहाँ सरकारी निकायबाहेक विभिन्न गैरसरकारी संस्थाले समेत शिक्षक र प्रधानध्यापक, ब्यवस्थापन समितिलाई तालिम सहित बार्षिक कार्ययोजना बनाउन सघाउने गरेकाले पनि नतिजामा सुधार आएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले बताए । उनले अभिभावकको सक्रियता र ब्यवस्थापन राम्रो भएका विद्यालयको नतिजामा सुधार आएको बताए । ‘अव स्थानीय तहस्तरमै नतिजाको समिक्षा गर्नुपर्ने भएको छ,‘नतिजा सुधारमा एकबर्ष मात्रै प्रयास गरेर हुदैन’ थापाले भने ।

उनका अनुसार कम्तिमा आधारभुत तहदेखि नै शैक्षिक रणनीति तयार गरी अगाडी बढ्ने गरी स्थानीय तहसँग सहकार्य गरी आगामीबर्षका नतिजालाई सुधार गर्न सकिने बताए । जिल्लाका विकटमा अवस्थित विद्यालयबाट जिल्लाको उत्कृष्ट नतिजा ल्याउने वातावरण बनाउने विषयमा अहिलेसम्म कुनैपनि बहस र छलफल नहुदााँ सामुदायिक विद्यालयको नतिजालाई उचाईमा पु¥याउन सकिएको छैन् । सुगमका विद्यालयको नतिजा उत्कृष्ट आउँदा दुर्गमको नतिजा कमजोर आउनुको आधार खोज्न नसक्नु सबैभन्दा कमजोर पक्ष भएको सरोकारवालाको भनाई छ । जिल्लाभरबाट १० वटा निजी सहित ७१ वटा विद्यालयबाट १ हजार दुई सय २९ जना विद्यार्थी सहभागी थिए ।

कसरी सुधार गर्ने सामुदायिक विद्यालयको नतिजा ?
यसबर्ष उत्तरी म्याग्दीको ज्ञानप्रकाश माविको औसत नतिजा, बेनी नगरकै घतान नेप्टेचौरको राष्ट्रिय माविबाट सामुदायिकतर्फको नतिजाले केही आसाबादी भएपनि राज्यको प्राथमिकता सामुदायिक विद्यालयलाई भएपनि नीजि विद्यालयले लगातार आफ्नै पक्षमा नतिजा ल्याउनुलाई संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको शिक्षण सिकाइको स्थिति खस्कँदो छ । राज्यले शिक्षकलाई दिनुपर्ने सुविधा, शिक्षक तालिम, विद्यालयको पूर्वाधार विकासका साथै शिक्षण सामग्री त उपलब्ध गराएपनि त्यसअनुसारको प्रतिफल शिक्षामा देखिएको छैन । सामुदायिकको नतिजा खस्कनुमा शिक्षक, ब्यवस्थापनपक्ष भन्दा ठूलो कमजोरी अभिभावकै छ ।

अभिभावकको सक्रियता भएका विद्यालयले नतिजालाई सुधार गर्न थालेका छन भने मुस्किलले बर्षमा एकदिनपनि आफ्ना छोराछोरीले पढ्ने विद्यालयको माटोमा पाइला नराख्ने अभिभावको संख्याको कल्पना पनि गर्न सकिदैन् । अभिभावकको निगरानी पनि शैक्षिक सुधारको एक आधार मानिन्छ । जिल्लामा सामुदायिकको नतिजा सुधार गर्ने विद्यालयमा अभिभभावकको बाख्लो निगरानी छ। अभिभावकसँगै जनप्रतिनिधिको भूमिका समेत चित्तबुझ्दो छैन् । कुनै विद्यालयमा निर्माणधिन अवस्थामा रहेको भौतिक पूर्वाधारको अवलोकन गर्न गएका जनप्रतिनिधिले शैक्षिक उपलब्धी, विद्यालय सुधार कार्ययोजना सहित सम्रग शैक्षिक गतिविधिका बारेमा बुझ्ने प्रयास गरेको देखिदैन् ।

भौतिक प्रगतिले मात्रै शैक्षिक परिवर्तनको कल्पना देख्ने जनप्रतिनिधिहरु पनि कमजोर नतिजाका पात्र हुन् ।सामुदायिक विद्यालयको शैक्षिक सुधारमा अव पनि बेवास्ता गरे म्याग्दीको नतिजामा सुधारको अपेक्षा गर्नु गलत हुन्छ । स्थानीय तहले यसबर्षको नतिजाको जनप्रतिनिधिसँगै बसेर समिक्षा गर्नुपर्छ, बेनीदेखि विकटसम्मका शिक्षक, विद्यार्थीको अनुभव आदानप्रदान गर्नुपर्छ, विद्यालयमा शिक्षक नियमित विद्यालयमा नआउने, आएको दिनमा पनि ठीक समयमा कक्षामा प्रवेश गरी पूरा समय नपढाउने, विद्यार्थीहरू पनि धेरै अनियमित हुने, अभिभावकले विद्यालय एवम् आफ्ना छोराछोरीप्रति खासै वास्ता नगर्ने कार्यलाई बन्द गर्नुपर्छ ।

जिल्लाका प्रतिनिधिको उपस्थितीमा शैक्षिक बहस तथा बार्षिक, तीनबर्षे र पाँचबर्षे लक्ष्य निर्धारण गरी पढाइ–लेखाइ कमजोर, आर्थिक अवस्था कमजोर भएकोलाई अतिरिक्त कक्षा र सुविधा, राम्रो काम गर्ने शिक्षक–विद्यार्थीको उचित मूल्यांकन गर्ने, सामुदायिक विद्यालयको नतिजामा सुधार ल्याउन तल्लो कक्षादेखि नै प्रभावकारी शिक्षण सिकाइ गरी विद्यार्थीको शिक्षाको आधार राम्रो र दरो बनाउने निर्माणात्मक र निर्णयात्मक दुवै किसिमको परीक्षाको माध्यमबाट विद्यार्थी मूल्यांकन गर्ने व्यवस्था मिलाउने, शिक्षक पदमा नियुक्ति गर्दा दलको सदस्यता भन्दा विज्ञापन गरी निष्पक्ष र स्वतन्त्ररूपमा परीक्षा लिई परीक्षामा उत्तीर्ण भएकालाई मात्र शिक्षक पदमा नियुक्ति दिन सकेमा पनि म्याग्दीको नतिजा सुधार गर्न सकिन्छ। यस्ता धेरै काम गर्न सकेमा मात्रै म्याग्दीको सामुदायिक विद्यालयको खस्कँदै गएको नतिजामा सुधार ल्याउन सकिन्छ।

Leave a Reply