संखुवासभामा विप्लव नेकपा र सुरक्षाकर्मी बीचको गोली हानाहान स्थलमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ सिलिचोङ गाउँपालिका १ सिसुवाखोलाको हेयाङ्लामा गोली चलेको हो । प्रहरीले सुरुमा विप्लव नेकपाका कार्यकर्ताले गोली चलाएको दाबी गरेको छ । तर, स्थानीयका अनुसार एकतर्फी गोलीको आवाज सुनिएको थियो ।उक्त ठाँउमा झन्डै २५ जनाको संख्यामा विप्लवका कार्यकर्ता देखिएको प्रहरीले दाबी गरेको छ ।

यसैबीच जिल्ला सुरक्षा समितिको बैठक सदरमुकाम खाँदबारीमा बसिरहेको छ । घटनाबारेमा जिल्लाका सुरक्षा अधिकारीहरुले बोल्न अस्वीकार गरिरहेका छन् । अहिले सशस्त्र प्रहरी निरीक्षक उमेश थापा र नेपाल प्रहरीका प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५\२५ जनाको बेग्लाबेग्लै टोली सेनाको ३ वटा हेलिकोप्टरमा उक्त स्थलमा पुगेको छ।

जिल्ला प्रहरी कार्यालयबाट गस्ती गएको टोली र विप्लव नेकपाबीच सोमबार बिहान गोली हानाहान भएको बताइएको छ । सिलिचोङ गाउँपालिकाका स्थानीयका अनुसार बिहान १० देखि साढे १० बजेको समयमा गाउँमा गोली चलेको आवाज आएको थिए ।  तर घटनामा हताहती या अन्य क्षतिबारे प्रहरीले केही बोलेको छैन । घटनास्थल सदरमुकाम खाँदबारीबाट एक दिनको पैदल दूरी टाढा हो । घटनाबारे विप्लव नेकपाले कुनै मुख खोलेको छैन् । विप्लव नेकपाले सुरक्षाकर्मी माथि आक्रमण गर्ने कुनै निती नरहेको बताउँदै आएको छ ।

Leave a Reply