बेनी–दरबाङ सडकखण्डमै पोखरी छ । हिलाम्मे सडकको बीचमा पशुचौपाया बस्ने पोखरीबाट गन्तब्यमा जान साना–ठुला सवारीसाधनलाई हम्मेहम्मे हुन्छ । पोखरी नजिकै पुग्दा एकपटक यात्रुले लामो सास फेर्नुपर्छ । यो पश्चिम म्याग्दी जोड्ने बेनी दरबाङ सडकखण्ड अन्तरगत मंगला गाउँपालिका वडा नं २ सिमलचौरको दृष्य हो । बर्षाको बेलामा मात्र नभई पानी थामिएर प्रचण्ड गर्मीमा समेत सडकको हालत उस्तै देखिन्छ ।

बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा प्रवेश गरेपछि केहीसमय लगत्तै पुगिने सिमलचौरको प्रवेशद्धारमै पोखरीजस्तो सडकमा मोटरसाइकल र सानाठुला चारप्राङ्ग्रे सवारीसाधन गुड्दा सडक नभई मिनी पोखरीमा डंगा चलेजस्तो महसुस हुन्छ । सडकका छेउबाट गन्तब्यमा जानेहरु कुनैपनि बेला बारीमा पुग्ने त्रास हुने गरेको छ भने नजिकै रहेको घर आसपासबाट आवतजावत गर्दा हिलाम्मे सडकमै सवारीसाधन फस्ने गरेको छ ।सडक स्तरउन्नतीको क्रममा रहेकाले स्थनीयले सहयोग गरेपनि ठेकेदार र सम्बन्धि निकाय पूर्वाधार कार्यालय बेनी समान्य मर्मतमा समेत बेवास्ता गर्दा स्थानीय आक्रोशित भएका छन् ।

पानी पर्ने वित्तिकै सडक जलमग्न हुन्छ । बेनीको जिल्ला समन्वय समितिमा रहेको पूर्वाधार कार्यालयका प्रमुख तथा प्राविधिकहरु सडकबाटै आवतजावत गर्ने गरेपनि ढल निकास ब्यवस्थित गर्न तथा तत्काललाई केही मर्मत गर्न समेत ध्यान दिन सकेका छैनन् । ‘सडकले यात्रुलाई सास्ती भएको छ,‘मोटरसाइकल चलाउनेलाई धेरै समस्या हुन्छ’ यूवा ब्यवसायी अशोक शर्माले बेनीअनलाइनलाई भने । उनका अनुसार मोटरसाईकल र पदैलयात्रीलाई घुँडाघुँडासम्म आउने पानीमा खोला तरेजसरी नै बाटो काट्नुपर्छ ।

यता मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले पटकपटक समस्याका बारेमा जानकारी गराउँदा समेत सम्बन्धिक निकायले चासो नदिएको बताए। उनले यात्रु र पदैलयात्रीलाई सहज आवतजावत हुने गरी तत्काल बर्खाको समयमा मर्मत गर्न निर्देशन दिएको बताए । सडकमै पोखरी बनेपछि सिमलचौरबाट तातोपानीको नीजि तथा सामुदायिक विद्यालयमा आवतजावत गर्ने विद्यार्थी हिलोमै लड्ने गरेका छन् । स्थानीयले केहीदिनमै मर्मत नभए सडकमै धान रोप्ने चेतावनी दिएका छन् ।

Leave a Reply