म्याग्दी प्रवासी नेपाली संघ (मोना बेल्जियम)ले आयोजना गरेको मोना डान्स आइडल–२०१९ को उपाधी जर्मनकी देवकी मगरले हात पारेकी छन् । प्रवासमा नेपाली कला र संस्कृतिको जर्गेना गदैं प्रतिभाको पहिचान गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा फष्ट रनर अफ बेल्जियमकी आरजु अधिकारी र सेकेन्ड रनर अफ बेल्जियमकै लाक्पा याङ्गजी शेर्पा भएकी छन् ।

प्रतियोगितामा आइडल मगरले ताज सहित ५७५ यूरो प्राप्त गरेकी थिईन् भने फष्ट रनरअफ र सेकेन्ड रनर अफले क्रमश ३७५ र २७५ यूरो र ट्रफी प्राप्त गरेको मोना डान्स आइडलका परिकल्पनाकार योगेन्द्र श्रेष्ठले बताए । प्रतियोगिताको उद्घाटन गदैं नेपाली राजदुत लोक बहादुर थापाले बेल्जियममा रहेका म्याग्दीबासीको सामाजिक, सांस्कृतिक तथा रचनात्मक कार्यमा रहेको सक्रियताले उत्साहित भएको बताए ।

उनले जन्मभूमि छोडेर कर्म भूमिमा समेत आफ्नो कला र संस्कृतिको जर्गेनाका लागि नेपालीले गरेको प्रयासले विदेशीलाई समेत भ्रमणका लागि आर्कषित गरेको बताए । ‘मैले गतबर्षपनि प्रतियोगिताका सहभागी हुने अवसर पाएको थिए,‘यहाँबाट जन्मभूमिमा निरन्तर सहयोग गर्नुभएको छ’ उनले भने । देशका विकासमा प्रवासी नेपालीको समेत सहभागिताले आफ्नो जन्मभुमि प्रतिको मायाँलाई समेत प्रष्ट पारेको बताए । बेल्जियममा बस्ने म्याग्देलीको साझा संस्था मोनाका पूर्व अध्यक्ष योगेन्द्र श्रेष्ठले सन् २००९ बाट सुरु गरेको प्रतियोगितालाई निरन्तरता दिइरहेको छ ।

प्रतियोगिताको उद्घाटनको अवसरमा मोना नेदरल्याण्डका अध्यक्ष जंगबहादुर पुन, मोना पोर्चुगलका अध्यक्ष टेक फगामी, मोना बेल्जियमका संस्थापक अध्यक्ष शिव बरुवाल, एनआरएनए बेल्जियमका बरिष्ठ उपाध्यक्ष कमल पन्थीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । प्रतियोगिताबाट संकलन भएको आर्थिकले नेपालमा प्राकृतिक विपत्ती सहित विभिन्न रचनात्मक कार्यमा सहयोग गर्ने गरिएको छ ।

प्रतियोगितामा निर्णायकको भूमिकामा अन्तराष्ट्रिय नेपाली समाजका केन्द्रिय बरिष्ठ उपाध्यक्ष कमला दाहाल, अन्तराष्ट्रिय नेपाली कलाकार समाज फ्रान्सका उपाध्यक्ष जगत खड्का, एनआरएनए पोर्चुगलका सदस्य तथा कोरियोग्राफर विनोद श्रीष मगरले गरेका थिए । प्रतियोगिताका अध्यक्षता मोना बेल्जियमका अध्यक्ष योगेन्द्र विक, स्वागत मन्तब्य गणेश भण्डारी र सञ्चालन महासचिव सुमन थापाले गरेका थिए । उद्घाटनपछिको समापान कार्यक्रमको सञ्चालन चन्द्रप्रकाश शर्माले गरेका थिए । प्रतियोगितामा ७ जनाको सहभागिता रहेको थियो ।