चरम गरिबीकै कारण बुबाले आत्महत्या गरेपछि पढाई छोडेर मेलापातमा जाने गरेकी अन्नपूर्ण गाउँपालिका–१ दोबाकी कुमारी राम्जाली र उनका भाईबहिनीको शिक्षादिक्षाका लागि यूकेबाट आर्थिक सहयोग गरेका छन् । यूकेमा बस्ने दोबाबासीको सक्रियतामा म्याग्दीका विभिन्न गाउँपालिका तथा छिमेकी पर्वत लगाएतबाट सहयोग संकलन गरिएको थियो ।

दैनिकज्याला मजदुरी गरेर जीविका चलाउँदै ओमबहादुरले आफ्नो कमाईले श्रीमति, पाँच छोराछोरीलाई पेटभरी खानसमेत दिन नसकेको पीरले आत्महत्या गरेपछि सुकुम्बासी जीवन विताइरहेका राम्जालीका बारेमा बेनीअनलाइनमा समाचार प्रकाशित भएपछि दोबा समाज यूकेले ३ लाख ३३ हजार ७५० आर्थिक सहयोग संकलन गरिएको छ ।

आफ्नै गाउँमा विचल्लीमा परेको समाचार सार्वजनिक भएपछि समाजका सल्लाहकार ललित गर्बुजा लगाएतको पहलमा संकलन भएको आर्थिक सदरमुकाम बेनीमा एक कार्यक्रमका बीच दोवा समाज पोखराकी सचिव मनकुमारी गर्बुजाले पीडित राम्जालीलाई हस्तान्तरण गदैं भविस्यमा पनि शिक्षादिक्षा सहितका कार्यहरुमा सहयोग गर्ने प्रतिबद्धता जनाईन् ।
‘खवरले संसारभरका दोबाबासीलाई छोएको छ,‘सहयोगदाताप्रति आभारी छु’ गर्बुजाले भनिन् ।

कार्यक्रममा दोवा समाज बेनीका अध्यक्ष गोपाल पुर्जाले स्वदेश तथा विदेशमार रहेका दोबाबासीको सक्रियतामा भविस्यमा पनि विभिन्न रचनात्मक कार्य गर्ने बताए । सोही अवसरमा कुमारी राम्जालीले आफ्नो घरको समस्याका बारेमा बेनीअनलाइनले समाचार प्रकाशित गरेपछि सहयोग जुट्न थालेको बताईन् । उनले सहयोगलाई घरायसी खर्चसँगै भाईबहिनीको उच्च शिक्षामा खर्च गर्ने बताईन् । सहयोग हस्तान्तरण कार्यक्रमको अध्यक्ष दोबा समाज बेनीका अध्यक्ष पूर्जा, स्वागत मन्तब्य खिमा पुर्जा र सञ्चालन मायाँकुमारी पुनले गरेकी थिईन् ।

यसअगाडी राम्जाली परिवारलाई दोवा समाज हङकङबाट १ लाख १३ हजार ८ सय ८० रुपैयाँ, दोबा समाज बेनीबाट पोशाक खरिदमा ५ हजार, समाजका अध्यक्ष पुर्जाले समेत ब्यक्तिगत रुपमा ५ हजार, अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर गर्बुजा पुनले १० हजार, छत्रपाटी निःशुल्क चिकित्सालय काठमाण्डौले ५० हजार कुमारीको नाममा गरिमा विकास बैंक पोखरेबगर शाखामा खोलिएको खातामा जम्मा भइसकेको छ ।