बेनी–जोमसोम–कोरला सडकखण्ड विस्तारको क्रममा पाइप फुटेपछि म्याग्दी सदरमुकाम बेनीमा एकमहिनायता खानेपानीको हाहाकार मच्चिएको छ । सडकखण्ड अन्तरगत गलेश्वर आसपासका क्षेत्रमा सडक विस्तारको नाममा डोजरले दैनिकजसो खानेपानी आपूर्ती गर्ने पाइपमा क्षती पु¥याउन थालेपछि बेनीबजारका मुख्य चोकमा एक महिनायता खानेपानीको वितरण ठप्प भएको छ । बेनीको कालिपुल बसपार्क, न्यूरोड, गणेशटोल, संगमचोक लगाएत अधिकांस क्षेत्रका सर्वसाधारणले विभिन्न स्थानमा पुगेर खानेपानी ल्याउने गरेका छन् ।

बेनी खानेपानी तथा सरसफाई उभपोक्ता संस्थाले अन्नपूर्ण गाउँपालिका वडा नं ८ राम्चेको पुम्दीखोला र बेनी नगरपालिका–३ भकिम्लीको दुधेखोलाबाट पानी ल्याएर सदरमुकाम बेनी सहित गलेश्वर, बगरफाँट र मंगलाघाट क्षेत्रका करिव २० हजार उपभोक्तालाई वितरण गदैंआइरहेको खानेपानी सडक विस्तारको क्रममा पाइपमा क्षती भएपछि नियमित वितरणमा समस्या भएको बेनी खानेपानी उपभोक्ता सरसफाई संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले बताए

‘पहिरोले भन्दा पनि ठेकेदारको लापरवाहीले समस्या भइरहेको छ,‘पटकपटक ध्यानर्कषण गराउँदा समेत ठेकेदारले मनोमानी गरिरहेका छन्’ उनले भने । विगतका बर्षमा पहिरोले दर्जन बढी स्थानमा पाइपमा क्षति पुर्याएपछि पानी आपूर्ति बन्द हुने गरेको अवस्थामा यसबर्ष सडकखण्ड अन्तरगत गलेश्वरको पुलवारी र गलेश्वरको पुलपारीको सडक विस्तारको जिम्मा लिएकाले पाइपलाई नै निशाना बनाएजस्तै दैनिक दुईदेखि तीनपटकसम्म क्षती पु¥याउने गरेको संस्थाका प्रवन्धक कुमार थापाले बताए ।

‘सरोकारवाला निकायकै चेतावनीलाई समेत बेवास्ता गरिएको छ,‘केहीदिन लोडसेडिङ गरेर पानी वितरण भइरहेको छ’ थापाले भने । पुम्दीखोला बेनीका लागी आवश्यक पानीको अधिकांस क्षमता पुरा गर्ने भएपनि दुधेखोलाको मुहान नै सानो भएकाले पनि मंगलाघाट, विरेन्द्रचोक र हुलाकचोक आसपासमा समेत पुग्दैन् । दुबै मुहानबाट ल्याइएको पानी बेनीबजार भन्दा माथि बराहपाखो समुदायिक वनमा निर्माण गरिएको ट्याङकीमा जम्मा हुन्छ । प्रतिसेकेण्ड २५ लिटर पानी जम्मा हुने ट्याङकीबाट घर–घरमा पानी वितरण गरिएको छ । खानेपानीको हाहाकार भएपछि बेनी नगरपालिका र खानेपानीमा समेत उपभोक्ताले डेलिगेसन गएर ध्यानर्कषण गराउन थालेका छन् ।

खानेपानीमा लोडसेडिङको तालिका
नियमित आर्पूतीमा समस्या भएपछि खानेपानीमा लोडसेडिङ गरिएको छ । बेनी खानेपानीले बिहिबार सार्वजनिक गरेको कार्यतालिकामा बेनीबजार भित्रका टोलहरु विभाजन गरी बेलुकी, दिउँसो र विहान खानेपानी आउने तालिका सार्वजनिक गरिएको छ । अभावलाई तत्काल पुरा गर्ने बैकल्पिक ब्यवस्था मिलाइएको संस्थाले जनाएको छ ।

पाइप फुटेको दुईघण्टामै मर्मत गर्ने सहमति
पटकपटक पाइपमा क्षती पुगेपनि सडक ठेकेदारले बेवास्ता गरेपछि बिहिबार जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवाला निकायको बैठकले खानेपानीको पाइपमा क्षती पुगेपछि दुईघण्टाभित्र ठेकेदारले मर्मत गर्ने र त्यसको खर्च सडक आयोजना पक्षले तिर्नुपर्ने सहमति भएको छ ।

छलफलमा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले खानेपानीमा असर नगर्ने गरी सडक विस्तार गर्न ठेकेदारका प्रतिनिधि र त्यसलाई ब्यवस्थापन गर्न आयोजनाका इन्जिनियरलाई निदेशन दिएका छन् । उनले बेनीबजार तथा आसपासमा खानेपानीको अभावले समस्या भइरहेको अवस्थामा आगामी दिनमा पनि एउटै समस्या दोहोरिने अवस्थाको अन्त्य गर्ने आयोजना पक्षलाई सजक बनाएका छन् । त्यस्तै आयोजना पक्षले गल्ती स्वीकार गदैं समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply