उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजनाले परिक्षण उत्पादनको अन्तिम तयारीमा जुटेको छ । आयोजनाको निर्माणकार्य सम्पन्न भएसँगै परिक्षण उत्पादनको तयारीमा रहेको आयोजनाका कम्पनी सचिव लक्ष्मीनिधि रिजालले बताए ।

उनका अनुसार आयोजनाको पावरहाउस,पेनस्टक पाइप, ‘सर्ज टयाङ्क’,ड्याम, बालुवा थिग्राउने पोखरी, बाँधदेखि पोखरीसम्म नहर निर्माण, डिसेन्डर बेसिन लगाएत विद्युत उत्पादनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पुरा भएपछि आयोजनापक्षले अन्तिम अनुगमन सहित परिक्षण विद्युत उत्पादनको तयारीका लागी जुटेको जनाइएको छ ।म्याग्दीका निजी क्षेत्रको पहलमा जिल्लामै पहिलोपटक वि.स २०७१ सालबाट निर्माण थालिएको आयोजनाको सुरुङ हुँदै ल्याइएको घलेम्दीखोलाको पानीलाई १५० मिटरको उचाइबाट पावरहाउसमा खसालेर विद्युत उत्पादन गरिन्छ ।

आयोजनाको पहिलोचरणमा उत्पादन भएको विद्युतलाई दानामा सवस्टेशन निर्माणधिन अवस्थामै रहेको अवस्थामा तातोपानी साना जलविद्युत हुदै केन्द्रिय प्रशारण लाइनमा जोडिने भएपनि बर्खाको समयमा मुस्ताङको थापाखोला जलविद्युत आयोजनाले नै ओगट्ने भएकाले पनि घलेम्दीको उत्पादन खेर जान सक्ने सम्भावना देखिएको छ ।

हिउँदो समयमा भने दाना सवस्टेशन सञ्चालनमा नआउँदासम्म क्यवस्थापन मिलाउने जिम्मा विद्युत प्राधिकरणको भएकाले पनि उत्पादनपछि खेर गएपनि प्राधिकरणले पीपीए सम्झौता अनुसार नै आयोजना पक्षलाई भुक्तान गर्नुपर्छ । सम्झौताअनुसार आयोजनाबाट उत्पादन हुने विद्युत्लाई विद्युत प्राधिकरणले खरिद गर्नेछ । वार्षिक साढे १८ करोड रुपैयाँ बरावरको विद्युत खरिद गर्ने प्राधिकरणले वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा प्रतियुनिट विद्युत खरिद गर्ने उल्लेख छ । घलेम्दीको उत्पादन म्याग्दीमा नीजि क्षेत्रबाट पहिलो हुने छ ।

Leave a Reply