म्याग्दीको सदरमुकाम बेनीमा विगत पिउने पानीको हाहाकार मच्चिएपछि एक यूवा पटकपटक ट्याक्टरमा पानीको बोकेर डम्प बजारमा निस्किन्छन् । दैनिक आफ्नै औजार केन्द्रमा ब्यस्त हुने बेनी नगरपालिका वडा नं २ हाँडेभीर निवासी कलदिप जुग्जाली एकमहिना यता पटकपटक गरी बेनीबजारबासीलाई निशुल्क खानेपानी वितरण गरेका छन् ।

बेनी–जोमसोम–कोरला सडकखण्ड विस्तारको क्रममा पाइप फुटेपछि पानीको आर्पूती बन्द भएपछि आसपासका क्षेत्रमा खानेपानी ल्याउन जाने गरेका बेनीबजारमा बसोबास गर्नेको समस्यालाई समाधान गर्न उनले आफ्नै ब्यक्तिगत लगानीमा खानेपानी वितरण गरेका हुन् ।

एकपटक होईन् पटकपटक एउटै समस्या छ,‘मैले पहिलोपटक वितरण गरेपछि अभाव भएपछि खोजी हुन थालेपछि बिहिबार पनि वितरण गरे’जुग्जालीले भने । उनले संकलन गरी खानेपानीलाई ट्याक्टरमा राखेर वितरण गरेको बताउँदै खानेपानी माग अनुसार पुर्याउन नसकेको बताए ।

शिक्षा, ब्यापार तथा विभिन्न पेशामा आवद्ध भएर बेनीमा कोठा भाडामा लिएर बसेकाहरुलाई बैकल्पिक स्रोतका बारेमा जानकारी नहुदाँ महंगोमा मिनिरल वाटर खरिद गरी प्रयोग गदैं गरेको अवस्थामा जुग्जालीको पहलमा वितरण भएको खानेपानीले सहज भएको यूवा अनुप बानियाँले बताए । उनले जनताको समस्या समाधान गर्ने पहिलो जिम्मेबारी जनप्रतिनिधिको भएपनि खानेपानीको अभावपछिको अवस्थामा जनप्रतिनिधिबाट अपेक्षा गरे अनुसार खानेपानी वितरण नभएको बताए ।

बेनीको कालिपुल बसपार्क, न्यूरोड, गणेशटोल, संगमचोक क्षेत्रमा खानेपानीको धेरै समस्या भएकाले जुग्जालीले सोही क्षेत्रमा वितरण गरेको बानियाँले बताए । उनले पानी लिनेको भीड देखेर बेनीको वास्तविक समस्या झल्कने गरेको बताए । बजारबासीलाई जुग्जालीले पानीको प्यास मेटाउने प्रयास गरेको भन्दै सामाजिक सञ्जालमा समेत प्रशंसा भइरहेको छ । ड्रममा पानी लिएर बजारमा गएपछि सर्वसाधारणको भीड लागेको थियो ।

बेनी खानेपानी तथा सरसफाई उभपोक्ता संस्थाले अन्नपूर्ण गाउँपालिका वडा नं ८ राम्चेस्थित पुम्दीखोलाबाट पानी ल्याएर सदरमुकाम बेनी सहित गलेश्वर, बगरफाँट र मंगलाघाट क्षेत्रका वितरण गदैं आइरहेको छ ।धारामा पानी नआउँदा बजारबासी आकाशे पानीको भरमा जीविका चलाउँदै आएका छन् । बेनी जोमसोम सडक विस्तारको क्रममा खानेपानीको पाइप फुटेपनि वितरणमा समस्या भइरहेको संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले बताए । दैनिक दुईतीनपटक पाइपमा डोजरले क्षती पुर्याउन थालेपछि समस्या भएको संस्थाले जनाएको छ । बर्खाको समयमा पहिरोले बेनीबजारमा खानेपानीको अभाव हुने गरेको छ ।

Leave a Reply