देशैभरी एकसाथ सुरू भएको प्रधानमन्त्री रोजगार कार्यक्रममा मकै गोड्ने, झार उखेल्ने र गाई समाउने जस्ता कामले कार्यक्रमकै आलोचना भइरहेको अवस्थामा म्याग्दीको एक गाउँपालिकाले दीर्घकालिन फाइदा हुने विभिन्न कामलाई प्राथमिकता दिएको छ । कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजना सुरु गरिएलगत्तै मंगला गाउँपालिकाभित्रका वडामा पदमार्ग निर्माणदेखि देखि जोखिमपूर्ण सडकको स्तरउन्नती लगाएतका समुदायमा अति आवश्यक पूर्वाधार विस्तारमा कार्यक्रमलाई केन्द्रित गरिएको छ ।

गाउँपालिकामार्फत एक सय जना भन्दा बढीलाई रोजगारी मिलेसँगै वडाभित्र बजेट विनियोजन गर्नुपर्ने केही योजनामा बजेट अभाव भएको अवस्थामा कार्यक्रममार्फत नै धमाधम पदमार्ग र सडक स्तरउन्नतीका कार्यहरुलाई तिब्रता दिइएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए । ‘बजेट सक्ने भन्दा पनि हामीले नमुना काममै केद्रित गरेका छौ,‘भविस्यमा पनि थप योजनाहरुमा जनसहभागितामा आधारित कार्यक्रम गछौ’ रोकाले भने ।

उनका अनुसार वडा नं २ को रनवाङ र हिदीमा सडकमा ग्रोबेलिङ, तथा जोखमपूर्ण सडकको स्तरउन्नती गरिएको छ भने वडा न ३ र ४ मा पदमार्ग निर्माणलाई तिब्रता दिइएको छ । पखेरदेखि बरंजा जोड्ने पदमार्ग निर्माणले नै कार्यक्रमको सदुपयोगलाई प्रष्ट पारेको अध्यक्ष रोकाको भनाई छ । दैनिक ७५० रुपैयाँका दरले ज्याला उपलब्ध गराउने व्यवस्था छ । गाउँकार्यपालिकाको बैठकले छनौट गरेका योजनामा मजदुरको रुपमा परिचालन गरिएको हो । ५०० जनाले बेरोजगार फारम भरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताए । उनका अनुसार १५ दिनभित्र सम्पन्न गर्ने गरी समयको सदुपयोग तथा नमुना काम गर्न समेत निर्देशन दिइएको बताए ।

वडा कार्यालय मार्फत बेरोजगार फारम भरेका मध्य घरमा अरुको रोजगार नभएका र विपन्नलाई प्राथमिकता दिएर काममा परिचालन गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि मंगलामा २८ लाख रुपैयाँ बजेट आएको थियो । तीस प्रतिशत मजदुरका लागि आवश्यक औजार, पोशाक र निर्माण सामग्री खरिद तथा सत्तरी प्रतिशत ज्यालाको रुपमा परिचालन गरिने व्यवस्था छ । यसैबीच वडा नं २ ले नमुना काम गर्ने गरी वडा सदस्य राजु पाण्डेले जिम्मेबारी अनुसार काम गर्नेलाई प्रोत्साहन गर्ने गरी र्दैनिक अनुगमन तथा आवश्यकता अनुसारको सहयोग समेत गरिएको बताए । उनले वडाको कामलाई जिल्लाभरीकै नमुना बनाउने गरी करिव ४० जनालाई परिचालन गरेको बताए ।

Leave a Reply