नेपाल–भारत सीमा काँकडभिट्टाबाट भित्रिने आँप, स्याउ, खरबुजालगायत फलफूलमा विषादीको मात्रा जाँचिन्छ । मात्रा बढी भए भित्र्याउन दिइन्न । तर लिचीको प्रयोगशाला परीक्षण गर्ने गरिएको छैन । लिची सेवनका कारण भारतको पश्चिम बंगाल, विहारलगायत राज्यमा दुई सयभन्दा बढी बालबालिकाको मृत्यु भएको समाचार सार्वजनिक भइसकेको छ । तर, भारतबाट नेपाल भित्रिने लिचीको नियमित जाँच भइरहेको छैन । ठ्याक्कै नतिजा नआउने भएकाले प्राथमिकता दिएर लिचीको परीक्षण नगरिएको बिर्तामोडस्थित कृषिथोकमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाकी प्राविधिक सहायक अञ्जु आचार्यले बताइन् ।

आचार्यका अनुसार सुरुमा केही लिचीको परीक्षण गरिएको थियो । तर, नतिजाचाहिँ ठ्याक्कै आएन । आँपको विषादी परीक्षण गर्दा रुकावट प्रतिशत ३१ देखिएको उनले बताइन् । ‘रुकावट प्रतिशत ३५ भन्दा तल देखिए खान मिल्छ,’ उनले भनिन्, ‘त्यसकारण भारतबाट भित्रिएका आँप खान तत्काल समस्या छैन ।’ तर, लिचीमा भने यस्तो स्पष्ट नदेखिने भएकाले नियमित परीक्षण नभएको उनको भनाइ छ । भारतबाट भित्रिएका तरकारी तथा फलफूलको परीक्षण बिर्तामोडस्थित कृषिथोकमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा हुँदै आएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Leave a Reply