पोखरा प्रवेश गर्ने मुख्य सडक विजयपुर खोलामाथि अस्थायीरूपमा सञ्चालनमा ल्याइएको डाइभर्सन बाढीले बगाएको छ। पृथ्वीराजमार्गको पोखरा महानगरपालिका–१४ चाउथे र २६ को विजयपुर जोड्ने विजयपुर खोलामाथि एक दशकअघि निर्माण गरिएको पक्की मोटरेवल पुलको स्टिल बीम चर्किँदा ठूला भार क्षमताका यातायातका साधन आवतजावतमा रोक लगाइएको थियो। ठूला यातायातका साधनलाई नदीमा ह्युमपाइप राखेर वारपार गरिएकोमा आइतबार राति आएको बाढीले ह्युमपाइप बगाएको हो।

डाइर्भसन बाढीले बगाउँदा पोखरा भित्रिने तथा पोखरा हुँदै पर्वत, बागलुङ, म्याग्दीलगायतका जिल्लामा जाने मालबाहक ट्रकको आवतजावत ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ। ठूला क्षमताका गाडी बिहान ५ बजेदेखि सडकमै रोकिएको प्रहरीको भनाइ छ। डिभिजन सडक कार्यालय पोखराले स्टिल पुलको आडमा बेलिब्रिज निर्माणका लागि सामग्री आइपुगेको तथा बेलिब्रिज जडान गर्नका लागि एबुटमेन्ट (पिलर) निर्माण सकिएकाले आजबाट जडानको काम शुरु गर्ने तयारी गरेको थियो। गत फागुन अन्तिम साता पुल जीर्ण भएको पत्ता लागेपछि १० टनभन्दा बढी क्षमताका साधनलाई नदीमा अस्थायीरूपमा ह्युमपाइप हालेर वारपार गराइन्थ्यो।

कार्यालयका सव–इञ्जिनीयर किरण सुवेदीले सातदेखि १० दिनभित्र बेलिब्रिज जडानको काम सम्पन्न गरेर पुल सञ्चालनमा ल्याइने बताए। “इटहरीबाट बेलिब्रिजका सामग्री आइपुगेको छ, अब जडान शुरु हुन्छ। एक सातादेखि १० दिनभित्र काम सकेर पुल सञ्चालन गर्ने तयारी गरेका छौँ”, सुवेदीले भने। कार्यालयका अनुसार दुई लेनको सो पुल ५० मिटर लामो र भारवहन क्षमता १०० टनको रहने छ। बेलिब्रिज निर्माणका लागि सडक कार्यालयले दुई करोड २० लाख लागतमा सगरमाथा÷जेजे जोइन्ट भेन्चर कम्पनीसँग गएको वैशाख २२ गते सम्झौता गरेको थियो।

चर्किएको स्टिलब्रिज मर्मतको काम सकिए पनि सडक विभागबाट निरीक्षणमा आएका विज्ञहरुको प्रतिवेदन नआउँदासम्म ‘हेभी’ सवारीलाई प्रवेश नदिइने सुवेदीले बताए। मर्मतपछि यातायात सञ्चालन गर्न सकिने वा नयाँ पुलनै बनाउनुपर्ने भन्नेबारेमा प्रतिवेदन आएपछि निर्णय लिइने कार्यालयले जनाएको छ। बेलिब्रिज अस्थायी पुल भए पनि यसलाई १० वर्ष प्रयोगमा ल्याउन मिल्ने विज्ञहरु बताउँछन्। विजयपुरको पुल हुँदै दैनिक छ हजारको सङ्ख्यामा सवारीसाधन ओहोरदोहोर गर्दै आएका छन्।

तस्वीर-तस्बिर सुदर्शन रंजित

Leave a Reply